रातो किताब ‘लिक’ भएको भन्दै छानबिन समिति गठन गर्न कांग्रेसको माग

बुधबार, १२ असार, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी कांग्रेसले प्रदेश सरकारले बजेटको ‘रातो किताब’ आधिकारिक रूपमा सार्वजनिक नगर्दै कम्प्युटरमा टाइप गरेको प्रति ‘लिक’ गरिएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलले मंगलबार पत्रकार सम्मेलन गरेर रातो किताब नआउँदै र आर्थिक मामिला मन्त्रालयले आफ्नो वेबसाइटमा नराख्दै टाइप गरेको ‘पीडिएफ फाइल’ लिक हुनु गम्भीर विषय भएको जनाएको छ ।

कांग्रेस संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले यसबारे उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेका छन् । ‘बजेट आएको करिब दुई सातासम्म सांसदलाई न रातो किताब दिइएको छ, न वेबसाइटमा राखिएको छ । आर्थिक मामिला मन्त्रालयमा बुझ्दा अहिलेसम्म बजेट पुस्तिका सार्वजनिक गरेका छैनौँ भन्छ,’ उनले भने, ‘तर, पिडिएफ फाइल मान्छेहरूका मोबाइलमा पुगेको छ । यो कसरी भयो, यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्छ ।’

सरकारको गैरजिम्मेवारपन र स्वार्थका कारण लिक भएको उनले आरोप लगाए । सरकारमा रहेकाहरूले बिचौलियाबाट रकम उठाउन सजिलो होस् भनेर पिडिएफ फाइल बिचौलियाकहाँ पुर्याएको हुन सक्ने शाहको भनाइ छ । कांग्रेसले पत्रकार सम्मेलनमा देखाएको पिडिएफ फाइलमा मन्त्रालयगत बजेटका विवरण उल्लेख गरिएका छन् । विगतमा यस्ता विषयमा संघमा मन्त्रीले राजीनामा दिएको उदाहरण रहेको भन्दै नेता शाहले सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

‘रातो किताब नआउँदै, मन्त्रालयले सार्वजनिक नगर्दै कसरी बाहिर आयो ? रकम उठाउन सजिलो होस् भनेर बिचौलियालाई पुर्याइएको हुन सक्ने हामीलाई लागेको छ,’ उनले भने, ‘यो सामान्य विषय होइन्, यसबारे सरकारले तत्काल आफ्नो धारणा सार्वजनिक गरोस् । हामी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दछौँ ।’ सरकारले नैतिक जिम्मेवारी लिँदै छानबिन गरेर यसमा दोषी देखिएकाहरू कारबाहीको दायरामा ल्याउनुपर्ने मागसमेत उनले गरे । 

सुझावित समाचार