विश्वकप खेलेर आएपछि नयाँ खेलाडीसँग अनुभव साट्दै आसिफ शेख

मंगलबार, ११ असार, २०८१
डिजिटल संस्करण

टी–२० विश्वकप खेलेर स्वदेश फर्केपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर आसिफ शेख गृहजिल्ला पर्सामा व्यस्त छन्। विश्वकपको समूह चरणबाटै नेपालको यात्रा समाप्त भएपछि काठमाडौं हुँदै सोही दिन वीरगन्ज आएका शेख बिहान र बेलुकाको समय क्रिकेटमै व्यस्त छन्।

लामो समयको अन्तरालमा करिब एक महिनाका लागि वीरगन्ज आएका उनले जिल्लाकै खेलाडीहरूलाई  प्रशिक्षण दिइरहेका छन्। उनी गत बिहीबार गृहजिल्ला आएपछि पर्सा जिल्ला क्रिकेट संघले सिमरा एयरपोर्टमा भव्य स्वागत गर्दै वीरगन्ज सहर परिक्रमा गराएको थियो। 

राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याट्सम्यानसमेत रहेका आसिफले अहिले दिनहुँ वीरगन्जको रामगढवामा रहेको ज्ञानदा माविअन्तर्गत सञ्चालित नेसनल स्पोर्टस् एकेडेमीमा प्रशक्षिण दिइरहेका छन्।

वीरगन्ज मुर्लीनिवासी क्रिकेट खेलाडी दाजुभाइ आरिफ शेख र आसिफ शेख नेसनल स्पोर्टस् एकेडमीको ब्रान्ड एम्बेसडरसमेत रहेका एकेडेमीका प्रमुख प्रशिक्षक जहुर अन्सारीले जनकारी दिए। आसिफले आफ्नो अनुभव साटेर प्रशिक्षणमा सहभागी नयाँ प्रतिभाहरूलाई प्रोत्साहित गरिरहेका छन्।

आरिफ र आसिफ वीरगन्ज आएका वेला नियमित रूपमा नेसनल स्पोर्टस् एकेडेमी पुगेर प्रशिक्षण दिने गरेका प्रशिक्षक अन्सारीले बताए। उनका अनुसार एकेडेमीमा मधेश प्रदेशका विभिन्न जिल्लाका ५०–६० जना खेलाडी नियमित रूपमा प्रशिक्षण लिइरहेका छन्।

प्रशिक्षक अन्सारीका अनुसार अबको एक महिनासम्म आरिफ र आसिफले वीरगन्जमै बसेर प्रशिक्षण दिनेछन्।

सुझावित समाचार