जंगली च्याउ खाँदा राक्सिराङमा एकै परिवारका चारजना बिरामी

मंगलबार, १२ असार, २०८१
डिजिटल संस्करण

मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा चारजना बिरामी परेका छन् । मकवानपुर प्रहरीका अनुसार सोमबार गाउँपालिकाको वडानम्बर ८ लाचेका एकै परिवारका चारजना बिरामी परेका हुन् । 

बिरामी पर्नेहरूमा स्थानीय २१ वर्षका भवुल प्रजा, उनकी श्रीमती २१ वर्षीया रतिमाया प्रजा, तीन वर्षको छोरा समिक प्रजा र भवुलका भाइ १८ वर्षका पूर्ण प्रजा रहेका छन् । प्रहरीका अनुसार भवुलले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् ।

उनीहरूको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ । यसअघि आइतबार मात्रै राक्सिराङ गाउँपालिकाकै वडानम्बर ७ दुगुवाङमा जंगली च्याउ पकाएर खाँदा स्थानीय बलबहादुर प्रजाको मृत्यु भएको थियो । यस्तै, अन्य चारजना बिरामी परेका थिए ।

बिरामी पर्नेमा मृतक बलबहादुरकी श्रीमती ४५ वर्षीया जालीमाया प्रजा, १५ वर्षीया छोरी रेन्जु र आठ वर्षीया सविना तथा १० वर्षका छोरा सुशल छन् । उनीहरूको भरतपुर अस्पतालमै उपचार भइरहेको छ ।

सुझावित समाचार