पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्यलाई ३ प्रश्न

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण

जग्गा किनेर विकास निर्माण अघि बढाउन नसक्ने अवस्थामा सरकार पुगेको समाचारबारे के भन्नुहुन्छ ?
यसमा हाम्रा विभिन्न समस्या जिम्मेवार छन् । पञ्चायतमा लोकतन्त्र थिएन, सरकार बलियो थियो । उसले भनेपछि जनताले नाइनास्ति गर्न सक्दैनथे । त्यसैले, त्यतिखेर सरकारले तोकेकै मुआब्जामा जग्गा पाउँथ्यो । पूर्व–पश्चिम राजमार्ग, चक्रपथ, त्रिभुवन विश्वविद्यालय आदिका लागि जग्गा त्यसरी नै लिइएको थियो । तर, देशमा लोकतन्त्र आएपछि जनता टाठाबाठा भए ।

उनीहरूलाई जनप्रतिनिधिहरूले उचाले । हामीसँग जग्गाको वैज्ञानिक मूल्य निर्धारण गर्ने कुनै संयन्त्र भएन । बजार मूल्य तिरेर जनताको सम्पत्ति लिनुपर्छ भनियो तर त्यसको बजार मूल्य निर्धारण गर्ने कुनै वैज्ञानिक मोडल या वस्तुनिष्ठ आधार भएन । विश्व बैंक, एडिबीजस्ता दातृ निकाय आवश्यकभन्दा बढी ‘सेन्सिटिभ’ भएर आफ्ना नीतिलाई हाम्रोजस्तो विकासोन्मुख देशमा थोपर्न थाले । यसले गर्दा यस्तो समस्या आएको हो ।  

मोटो रकम मुआब्जा बाँडिएका ठूला पूर्वाधार आयोजनाको पनि प्रगति लगभग शून्य देखिनुले के संकेत गर्छ ?
यो सब योजना तर्जुमा र व्यवस्थापनमा भएको कमजोरीको परिणाम हो । अहिले त कतिपय आयोजना प्रमुखहरूको मुख्य काम नै मुआब्जा बाँड्नु बनेको छ । यसबाट आयोजनाहरू अलपत्र पर्ने अवस्था सिर्जना हुँदै गएका छन् । आयोजनाको प्रगतिमा भन्दा मुआब्जा वितरण र प्राप्तिमा सबैको ध्यान गएपछि हुने नै यही हो ।

 यस्तो समस्याको दीर्घकालीन समाधान के हुन सक्छ त ?
सबैभन्दा पहिले राज्यले जग्गाको बजारमूल्य निर्धारणमा वैज्ञानिक मोडेल अवलम्बन गर्नुपर्छ । विकास निर्माणमा बाधा पुर्याउने नियम, कानुनलाई समय सापेक्ष ढंगमा परिमार्जन गर्नुपर्छ र सबैमा विकास निर्माणप्रति जागरुकता हुनुपर्छ । 

सुझावित समाचार