आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जडीबुटीलाई औषधिजन्य पदार्थको प्रयोग गर्न अभिप्रेरित गर्ने उद्देश्यले आज ‘औषधिजन्य जडीबुटी मेला’ आयोजना गरेको छ ।
चिकित्सालयका प्रमुख डा. पुनम नेपालले औषधिजन्य जडीबुटीको ज्ञानलाई जानकारी दिने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानमा मेलाको आयोजना गरिएको बताए। मेलामा नेपालको हिमाल, पहाड र तराईमा उब्जेका बहुमूल्य जडीबुटी प्रदर्शनी, आयुर्वेद तथा हाम्रा परम्परामा रहेका विभिन्न जडीबुटीबाट मिश्रित पथ्य आहार एवं खानपानको जानकारी गराइनेछ।
चिकित्सालयका प्रमुख डा. नेपालले मेलामा जडीबुटीको पहिचान र उपयोगसम्बन्धी जानकारी, रैथाने एवं लोपोन्मुख बहुमूल्य जडीबुटीको जानकारी, स्वास्थ्य प्रवर्द्धन तथा उपचारका लागि स्थानीय जडीबुटी पहिचान, उपयोग र उत्पादनको जानकारी दिइने बताए। यसैगरी, प्राविधिक सत्रमा सम्बन्धित विषयविज्ञहरूद्वारा औषधिजन्य जडीबुटी र पोषण, जलवायु परिवर्तन, पर्यावरणीय स्वास्थ्य, जडीबुटीहरूको दिगो संरक्षणसम्बन्धी वैज्ञानिक सत्रहरू पनि राखिएको छ।
मेलामा औषधिजन्य जडीबुटीको व्यावसायिक खेती, वैज्ञानिक पद्धतिबाट संकलन, दिगो संरक्षणमा प्रयास एवं किसानबाट उत्पादनकर्तासम्मको स्थिति, सम्भाव्यता र चुनौतीका बारेमा पनि छलफल हुनेछ। मेलाबाट औषधिको प्रयोग भए पनि लोपोन्मुख रहेका जडीबुटीको संरक्षण गर्न सहयोग मिल्नेछ। चिकित्सालयका प्रमुख डा. नेपालले नेपालमा करिब पाँच हजार ६ सय जडीबुटीबाट औषधि उत्पादन हुने गरेकाे अध्ययनले देखाएको बताए।