नबिल बैंकको नेतृत्वमा आइएमई समूहको परियोजनामा ११ अर्ब १२ करोड लगानी आगामी अक्टोबरदेखि परियोजना निर्माण सुरु गरेर चार वर्षमा सम्पन्न गर्ने लक्ष्य
आइएमई समूहले अघि बढाएको ६६.३ मेगावाट क्षमताको मध्य–कालीगण्डकी जलविद्युत् परियोजनाका लागि लगानी सुनिश्चित भएको छ । परियोजनामा नबिल बैंकको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सहवित्तीयकरणमा ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच आइएमई समूहको हाइड्रो सपोर्ट प्रालि र नबिल बैंकले ऋण लगानी सम्झौता गरेका छन् । सम्झौतापत्रमा हाइड्रो सपोर्टका तर्फबाट आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकहरूको तर्फबाट लिड गरिरहेको बैंक नबिलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले हस्ताक्षर गरे ।
म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको यो परियोजनामा लागत अनुमान ब्याजसहित १४ अर्ब ८३ करोड ९७ लाख रुपैयाँ रहेको छ । आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी)बाट लगानी जुटाइएको छ ।
त्यसमा निर्माण अवधिको ब्याजसहित बैंकहरूले ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये नबिल बैंकको तीन अर्ब १२ करोड, एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले दुई–दुई अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको एक–एक अर्ब रुपैयाँ रहनेछ । यसैगरी, एचआइडिसिएलले थप एक अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी कम्पनीलाई आशयपत्र पठाएको बताइएको छ ।
बाँकी तीन अर्ब ७० करोड ९९ लाख रुपैयाँ भने कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्ने भएको छ । जुन इक्विटीमा आइएमई समूह र सर्वसाधारणको लगानी रहनेछ । आगामी अक्टोबरदेखि परियोजना निर्माण सुरु गरेर आगामी चार वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । हाल परियोजनाको निर्माणपूर्वका काम भइरहेका छन् ।
परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता भइसकेको छ । हिउँदयामको विद्युत् ८.४० रुपैयाँ र वर्षायामको विद्युत् ४.८० रुपैयाँमा बिक्री गरिनेछ । जसको आधारमा आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाट विद्युत् उत्पादन हुनेछ, त्यसबाट एक अर्ब नौ करोड रुपैयाँ आम्दानी हुनेछ । यस्तै, वर्षामा दुई सय ७७ गिगावाट विद्युत् उत्पादन हुने र एक अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने बताइएको छ । समग्रमा वार्षिक कुल चार सय सात गिगावाट विद्युत् उत्पादन भई दुई अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुनेछ ।
परियोजनामा ४.३ किलोमिटर सुरुङ निर्माण गरिनेछ । विद्युत्गृह भने भूमिगत हुनेछ । परियोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा जोडिनेछ । नबिल बैंकका सिइओ ढुंगानाले परियोजना सम्भाव्य देखेर नै ऋण लगानी गर्न लागेको बताए । ‘ऊर्जालाई सरकारले पनि प्राथमिकताको क्षेत्रमा राखेको छ । यो राज्यको आवश्यकता पनि हो । तसर्थ, हामी ऊर्जामा लगानी गर्न सकारात्मक छौँ,’ उनले भने, ‘त्यसमाथि यो आयोजनाको सम्भाव्यता पनि देखियो । तसर्थ, हामी यसमा लगानी गर्न तयार भयौँ ।’
आइएमई समूहका अध्यक्ष ढकालले यस परियोजनासँगै ८६ मेगावाटको क्यासकेड आयोजना पनि बनाउने तयारी गरेको बताए । एक वर्षभित्र नै त्यसमा लगानी जुटाउने उनको भनाइ छ । उनले भने, ‘बीचमा प्राधिकरणले पिपिए नखुलाउँदा परियोजनाको निर्माण ढिलो सुरु हुन पुगेको छ । पिपिए नरोकेको भए हामी अझ छिटो यो परियोजनाको निर्माण सुरु गर्ने थियौँ । तसर्थ, ऊर्जा विकासका लागि सरकारले पिपिए खुला गर्न आवश्यक छ ।’