साबिक विजेता अर्जेेन्टिनाले शुक्रबार बिहान कोपा अमेरिका–२०२४ मा सानदार जित निकालेको छ । अमेरिकाको एटलान्टामा भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० ले हराउँदा जुलियन अल्भारेज र लौटारो मार्टिनेजले समान एक गोल गरेका थिए । कप्तान लियोनल मेसी र एलेक्सिस म्याक एलिस्टरले समान एक असिस्ट गरेका हुन् ।
अर्जेन्टिनाले समूह ‘ए’मा तीन अंक जोडेको छ । क्यानडाले हारबाट प्रतियोगिता सुरु गरेको छ । यस समूहमा पेरु र चिलीको खेल बाँकी छ । जितपछि अर्जेन्टिनाले कोपाको अपराजित यात्रा नौ संख्या पुर्याएको छ । सन् २०२१ मा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिनाले खेल गुमाएको छैन । पछिल्लो संस्करणको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई हराएर उपाधि जितेको थियो । कोपापछि अर्जेन्टिनाले मेसीको कप्तानीमा कतार फिफा विश्वकप–२०२४ को उपाधि उचालेको थियो ।
कोपा अमेरिकामा आयोजकले घाँस मैदान नराखी कृत्रिम मैदानमा खेलाउँदा अर्जेन्टिनी र क्यानेडी प्रशिक्षकले आलोचना गरेका छन् । दुवै टोलीका प्रशिक्षकले कृत्रिम घाँसमा खेल्दा समस्या भएको बताए । ‘भाग्यले साथ पाउँदा हामी खेल जित्न सफल भयौँ,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानीले भने, ‘हामीले पछिल्लो सात महिना टर्फमा अभ्यास गरेको छैन । यस किसिमको मैदानमा अभ्यस्त नहुँदा खेल्न निकै समस्या भयो ।’
एटलान्टाको मार्सेडेज बेच मैदानमा पहिलो हाफ गोलरहित बराबरी भयो । दोस्रो हाफमा अर्जेन्टिनाले नियन्त्रणमा राखेको थियो । लिभरपुलका एलिस्टरले बक्सभित्र मिलाएको पासमा एल्भारेजले चलाखीपूर्ण गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । म्यानचेस्टर सिटीका स्ट्राइकर एल्भारेजले अर्जेन्टिनाबाट ३२ खेलमा आठ अन्तर्राष्ट्रिय गोल गरेका छन् । विथापन्न खेलाडी मार्टिनेजले मेसीको पासमा गोल गर्दै अर्जेन्टिनालाई २–० को बलियो स्थितिमा राखे ।
खेलको अन्तिम दुई मिनेटमा मेसी क्यानडाका गोलरक्षकविरुद्ध वान भर्सेज वानमा गोल गर्न सकेनन् । उनको प्रहार गोलरक्षक क्रेपेउले बचाएका थिए । अब, अर्जेन्टिनाले दोस्रो खेलमा चिलीको सामना गर्नेछ ।