लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। नेपाली कांग्रेसको अवरोधका कारण केही समयलाई रोकिएको शुक्रबारको बैठक स्थगित भएको हो।
प्रदेश सभाको अर्को बैठकको असार ९ गते आइतबार बिहान ८ बजेलाई आह्वान गरिएको छ।
शुक्रबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफ्नो धारणा राखिसकेपछि कांग्रेसले सदन अवरुद्ध गरेको थियो। सभामा चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथमिकतामा राखेको भने पनि चालू वर्षभन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताए।
उनले विपन्न वर्गसँग जोडिएका कार्यक्रमहरू कटौती गरेको र नयाँ नल्याएकोसमेत बताए।
शुक्रबार आगामी आर्थिक वर्ष ०८१/८२ को ‘राजस्व र व्ययको वार्षिक अनुमान’माथिको सैद्धान्तिक छलफल भई छलफलका क्रममा उठेका प्रश्नहरूको आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले जवाफ दिने कार्यसूची रहेको थियो।
त्यस्तै, मन्त्री आचार्यले आगामी आर्थिक वर्षको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेस गर्ने कार्यसूचीसमेत रहेको थियो।