प्रतिपक्षी दलहरूको अवरोधपछि बिहीबार स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन। बिहीबारको प्रदेश सभा बैठकमा बजेटको विषयलाई लिएर कांग्रेस र राप्रपाले अवरोध गरेपछि शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो।
तर, दलहरूबीच सहमति जुट्न नसकेपछि प्रदेश सभाको बैठक अहिलेसम्म बस्न सकेको छैन। यसअघि बिहीबारको बैठकमा प्रतिपक्षी दलहरू कांग्रेस र राप्रपाले बजेट अस्पष्ट र असन्तुलित भएको भन्दै पुनः लेखन गर्नुपर्ने माग गर्दै बैठकमा नाराबाजी गरेका थिए।
दलहरूबीच सहमति जुटाउन भन्दै आज बिहान दलहरूबीच छलफलका लागि सर्वदलीय बैठक बस्ने सहमतिसमेत भएको थियो। तर, अहिलेसम्म सर्वदलीय बैठकसमेत बस्न नसकेको प्रदेश सभा सचिवालयले जनाएको छ।
सर्वदलीय बैठक बस्न नसकेपछि ११ बजेलाई बोलाइएको प्रदेश सभा बैठक अनिश्चित बन्दै गएको हो। प्रतिपक्षी दलहरूले बजेट किताबमा राखिएका योजना र छुट्याइएको बजेटमा तारतम्य नमिलेको, सरकारले प्रकाशन गरेको बजेट किताब र आफूहरूलाई उपलब्ध गराएको बजेट विवरणमा एकरूपता नभएको, अर्थ विविधि शीर्षकको बजेट लुकाइएकोलगायतका आरोप लगाएका छन्।
यस्तै, बजेट वक्तव्य र कार्यक्रम किताबमा बजेटको आकार फरक परेको, नियमन गर्ने अर्थ मन्त्रालयमा विकासे मन्त्रालयको जस्तो बजेट राखेको आरोप उनीहरूको छ। बजेट वक्तव्यमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको भए पनि बजेट किताबमा ६६ अर्बजतिको योजना समावेश गरेर झुक्याउन खोजिएको प्रमुख प्रतिपक्षी दल कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले बताए। उनले सरकारले प्रकाशन गरेको बजेट पुस्तिका र सांसदहरूलाई उपलब्ध गराएको बजेटको पाण्डुलिपिमा नै भिन्नता रहेको दाबी गरे।
यसैगरी, राप्रपा बागमती प्रदेश संसदीय दलका अध्यक्ष उद्धव थापाले विपत् व्यवस्थापनको बजेट पुँजीगत खर्च शीर्षकमा राख्ने काम गरेको, आय–व्यय र खर्च शीर्षक नै निर्क्याेल गर्न नसकेको, बजेट कार्यक्रमका शीर्षकहरूमा दोहोरोपन देखिएको र सांसदहरूलाई उपलब्ध गराएको सिलिङअनुसारको कार्यक्रम प्राप्त हुन नसकेको दाबी गरे। थापाले प्रतिनिधिसभामा रहेका दलहरूबीच भएको सहमतिका आधारमा बजेटमा योजनाहरू समावेश नभएसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिएका छन्।