गुल्मीमा वार्षिक करिब तीन हजार परिवार बसाइँसराइ गर्ने गरेका छन् । अहिले गाउँमा मान्छे बस्नेभन्दा नबस्ने घरहरू धेरै छन् । मालिका गाउँपालिकाले नीति तथा कार्यक्रममा ‘गाउँ फर्क प्यारा’ अभियानलाई निरन्तरता दिइरहेको छ ।
दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिहरूले पहिलो वर्षदेखि अभियानलाई निरन्तरता दिएका छन् । यो अभियानको योजनाबद्ध कार्यक्रम नभए पनि विशेष गरेर परदेशबाट युवाहरूलाई गाउँ फर्केर स्वदेशमै केही गर्न उत्प्रेरित गर्ने उद्देश्य रहेको छ ।
सोहीअनुसार वैदेशिक रोजगारीबाट फर्केका युवाहरूलाई उद्यमशील कार्यमा उत्प्रेरित गरी गाउँमा नै बस्ने वातावरण सिर्जना गरिने गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बताए ।
रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रूपमा स्थापना गरेर गाउँपालिकाभित्रका अदक्ष, अर्धदक्ष तथा दक्ष कामदारलाई सूचीकृत गर्ने र गाउँपालिकाभित्र सञ्चालन हुने आयोजनाहरूमा प्राथमिकताका साथ परिचालन गर्ने उद्देश्य रहेको अर्यालले बताए ।
गाउँपालिका अध्यक्षले गाउँ सभामा पेस गरेको आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा स्थानीय विकास निर्माणमा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, श्रम परिचालन गर्ने मोडेलको विकास गर्ने, बेरोजगार जनशक्तिको पहिचान, सशक्तीकरण र सकारात्मक विभेदमार्फत समावेशी रोजगारीको प्रवर्द्धन गरिने उल्लेख छ ।
गाउँपालिकाको नीति निर्माण तथा निर्णय प्रक्रियामा युवाहरूको सहभागिता भई युवामैत्री वातावरण सिर्जना गर्ने र श्रमिकको अधिकारको सम्मान तथा रोजगारीका क्षेत्रमा देखिएका समस्या, रोजगारीका सम्भावना तथा नागरिकलाई रोजगारीमा आकर्षित गर्न रोजगार संवाद मञ्चको कार्यक्रम सञ्चालन गरिने नीति सार्वजनिक गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए ।
त्यस्तै, स्वास्थ्य सेवालाई सहिद, बेपत्ता परिवार, द्वन्द्वपीडित, गरिब, दलित, अपांगता भएका तथा उत्पीडित समुदायका व्यक्तिहरूलाई समेत सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वास्थ्य बिमा कार्यक्रममा गाउँपालिकाको सहभागितालाई वृद्धि गरिने नीति गाउँपालिकाले अगाडि सारेको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवा कम मूल्यमा’ अवधारणा अवलम्बन गर्दै स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र क्षमता विकास गरेर दक्ष स्वास्थ्यकर्मी निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइने खनालले बताए।
मुसीकोटमा शैक्षिक विकासमा जोड
गुल्मीको मुसीकोट नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा शैक्षिक विकासलाई प्राथमिकतामा राखेको छ । शिक्षा क्षेत्रको सर्वताेमुखी विकास एवं शैक्षिक गुणस्तर सुधारका लागि ‘शैक्षिक गुणस्तर विकास कोष’लाई अगाडि सारिएको छ । मेयर जीवन खरेलले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शैक्षिक गुणस्तर विकास कोषमार्फत शिक्षक दरबन्दी न्यून, तर विद्यार्थी संख्या अधिक भएर संकटमा रहेका विद्यालयहरूमा स्थानीय समुदाय र अभिभावकहरूमाथिको बोझ कम गर्न सहयोग गर्ने उद्देश्य रहेको बताइएको छ ।
त्यस्तै, संस्थागत विद्यालय इच्छुक भएमा सामुदायिक विद्यालयमा समायोजन गर्न र शैक्षिक गुणस्तर उकास्न थप स्वयंसेवक शिक्षक/नगर शिक्षक नियुक्तिका लागि कोषले सहयोग गर्ने मेयर खरेलले बताए ।
नगरपालिकाले जिरो होम डेलिभरी घोषणा र पूर्णखोप सुनिश्चितता गर्ने नीति लिएको छ । ‘आधारभूत औषधि उपचार पाउने जनताको आधार : बस्ती–बस्तीमा डाक्टरी सेवा घर–घरमा स्वास्थ्य स्याहार’ अभियानलाई पनि अहिलेको नीति तथा कार्यक्रमबाट अझै व्यवस्थित बनाउने योजना रहेको स्वास्थ्य संयोजक डिबी जिसीले जानकारी दिए ।
जसका लागि आवधिक रूपमा चिकित्सक र नियमित रूपमा सहायक चिकित्सकको व्यवस्था गरिने जिसीले बताए । त्यस्तै, गरिबी र विपतकाे कारण घर, आवास, शौचालय निर्माण गर्न नसकेर घरवासविहीन नागरिकलाई आवास निर्माणमा टेवा पुर्याउन यो वर्षदेखि सञ्चालनमा रहेको ‘विपत् र गरिबीमा हाम्रो नगरको भर : आवास र शौचालय सुधार, घर नभएकालाई घर’ भन्ने अभियानलाई नीति कार्यक्रममार्फत निरन्तरता दिइएको छ ।