सेती प्रादेशिक अस्पतालमा सिकलसेलका बिरामी बढ्दै

कैलाली र कञ्चनपुरका नौ सय ४९ को नियमित उपचार हुँदै

बिहिबार, ६ असार, २०८१
डिजिटल संस्करण

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुग्ने सिकलसेल रोगबाट प्रभावित बिरामी बर्सेनि बढ्दै गएका छन् । विभिन्न स्वास्थ्य समस्या लिएर उपचारका लागि अस्पताल पुग्नेमध्ये शंकास्पद लक्षणका आधारमा गरिने परीक्षणका क्रममा सिकलसेल रोगका नयाँ फेला पर्ने बिरामीको संख्या पनि बढ्दो क्रममा रहेको अस्पतालले जनाएको छ ।

अस्पतालमा हाल कैलाली र कञ्चनपुरका नौ सय ४९ ले सिकलसेल रोगको नियमित उपचार गराइरहेका छन् । त्यसमध्ये चार सय ८० जना महिला रहेको अस्पतालको सामाजिक सेवा इकाइ प्रमुख गौरीदत्त जोशीले जानकारी दिए । उनका अनुसार सेती अस्पतालमा चालू आर्थिक वर्षको हालसम्म ७८ जना सिकलसेलका नयाँ बिरामी पत्ता लागेका छन् । गत आवमा ९४ र त्यसअघिल्लो वर्षमा शंकास्पद बिरामीको परीक्षण गर्दा ७४ जनामा संक्रमण पुष्टि भएको थियो । 

रोग पत्ता लगाउन अस्पतालले प्रदेश सरकारसँगको समन्वयमा समुदायमा गएर परीक्षण शिविर पनि सञ्चालन गर्दै आएको जोशीले बताए । सिकलसेल रोगबाट प्रभावितलाई सरकारी नीतिअनुसार सेती प्रादेशिक अस्पतालले एक लाख रुपैयाँसम्मको निःशुल्क उपचार गर्दै आएको छ । वंशाणुगत रोग सिकलसेल हालसम्म प्रायः थारू र रानाथारू समुदायका व्यक्तिमा मात्र देखिएको छ । सेती प्रादेशिक अस्पतालका डा. प्रदीप मिश्रले सिकलसेल प्रभावितको शरीरको रगतका कोषिकाहरू हँसिया आकारको हुने गरेको बताए । उनले सिकलसेल प्रभावितमा शरीरको दुखाइ असह्य हुनेजस्ता लक्षण देखिनुका साथै रोग प्रतिरोधात्मक क्षमता नष्ट हुँदा अन्य रोग र संक्रमण बढी हुने गरेको बताए । ‘शरीरका रातो रक्त कोषिकाहरू गोलो आकारको हुन्छन्, तर सिकलसेल संक्रमितमा हँसिया आकारको रक्त कोषिका बन्छ र साना रक्त नलीमा बग्न सक्दैन, अड्किएर बस्छ,’ डा. मिश्रले भने, ‘यसबाट असह्य दुखाई हुनुका साथै शरीरमा अक्सिजनको मात्रा कम हुन्छ ।’ यो रोग आमाबुबाबाट अन्य वंशाणुगत गुणजस्तै सन्तानमा सर्दै जाने उनले बताए ।

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरले सेतीमा सिकलसेलको परीक्षण र उपचार निःशुल्क रहे पनि स्रोत–साधनको अभावले छुट्टै कक्ष स्थापना गरी उपचार दिन नसकिएको बताए । उनले कैलाली, कञ्चनपुरमा थारू समुदायमा सिकलसेल प्रभावितको संख्या धेरै रहेको हुन सक्ने अनुमान रहे पनि समुदायमा ठूलो मात्रामा परीक्षण हुन नसकेको बताए । कमरले ग्रामीण क्षेत्रमा सिकलसेलको परीक्षण बढाउन सचेतना फैलाउन आवश्यक रहेको उनले औँल्याए । बोनम्यारो ट्रान्सप्लान्ट र जिन थेरापीबाट सिकलसेल निर्मूल गर्न सकिने, तर यो उपचार निकै महँगो रहेको उनले बताए । उनका अनुसार नेपालमा अहिले सिकलसेल प्रभावितलाई शरीरमा रगत कम भएका वेला रगत दिने तथा दुई हुँदा र अन्य लक्षण देखिँदा त्यही आधारमा उपचार गर्ने गरिएको छ । 

सेतीबाहेक कैलालीको घोडाघोडी र टीकापुर अस्पताल तथा कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा सिकलसेलका बिरामीलाई सरकारले तोकेको सीमामा निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको छ । सेतीमा नियमित उपचार गराउँदै आएकामध्ये दुई सय ६४ जना कञ्चनपुरका हुन् ।

सुझावित समाचार