दिनेश प्रजापतिले सूर्य नेपाल गल्फ टुर २०२३/२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन एक स्ट्रोकको अग्रता लिएका छन् । उनले मंगलबार पहिलो दिन ७ अन्डर ६५ को सानदार स्कोर गर्दै शीर्ष स्थान कब्जा जमाएका हुन् ।
उनले तोरण विक्रम शाही र एमेच्योर सुमन परियारलाई एक स्ट्रोकले पछि पारे । गोकर्ण गल्फ क्लबमा तोरण र सुमन ६ अन्डर ६६ को स्कोरका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् । साबिक विजेता सुवास तामाङ, भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्य ४ अन्डर ६८ सहित संयुक्त रूपमा चौथो स्थानमा रहे ।
३ अन्डर ६९ को स्कोर गरेका एमेच्योर विजय श्रेष्ठ सातौँ र अर्का एमेच्योर वाङचेन ढोन्डुप २ अन्डर ७० स्कोरका साथ आठौँ स्थानमा छन् । १ अन्डर ७१ स्कोर गरेका रवि खड्का, नीरज तामाङ, धनबहादुर थापा र सञ्जय लामासँगै एमेच्योर तेन्जिङ पाल्देनले संयुक्त रूपमा नवौँ स्थान बाँडेका छन् ।
पहिलो दिन उत्कृष्ट स्कोर निकाल्ने क्रममा दिनेशले बोगीरहित ७ अन्डरको स्कोर गरेका थिए । सात बर्डी प्रहार गरेका उनले फ्रन्ट नाइन ४ अन्डर ३२ स्कोर गरे । ब्याक नाइनमा पनि उनले यही लयलाई निरन्तरता दिए । उनले १३औँं, १४औँ र १७औँ होलमा उनले एक–एक सट बचाउँदै ब्याक नाइन ३ अन्डर ३३ स्कोर गरेका थिए ।
तोरणले फ्रन्ट नाइन इभन पार ३६ मा सकाए । यसपछि ब्याक नाइनमा उनले लोभलाग्दो प्रदर्शन गर्दै चार बर्डी प्रहार गरेका थिए । उनले ५ पारको पाँचौ होलमा इगल हात पार्दै ब्याक नाइन ६ अन्डर ३० मा सकाए । एमेच्योर सुमनले उत्कृष्ट प्रदर्शन गर्दै फ्रन्ट नाइन ५ अन्डर ३१ स्कोर गरेका थिए ।