जसपा नेपालका प्रवक्ता मनीष सुमनलाई तीन प्रश्न

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा के भइरहेको छ ?
गत ३० जेठमा जनकपुरमा सम्पन्न जसपा नेपालको केन्द्रीय महाधिवेशनबाट उपेन्द्र यादव अध्यक्षमा निर्विरोध चयन हुनुभएको छ । त्यसबाहेक बाँकी पदाधिकारी र केन्द्रीय  सदस्यहरू चयन गरी कार्यसमितिलाई पूर्णता दिने काम पूरा भइसकेको छैन । भर्खरै मात्र अध्यक्ष उपेन्द्र यादव काठमाडौं आइपुग्नुभएको छ । यस विषयमा पार्टीमा कुनै छलफल भएको छैन । अब सल्लाह गरेर छिटै टुंगो लगाउँछौँ । 

महाधिवेशनले अध्यक्षलाई नै टुंगो लगाउने अधिकार दिएको अवस्थामा केन्द्रीय समिति कत्तिको समावेशी बन्ला ? 
पार्टी विधानको व्यवस्थाअनुसार अध्यक्षसहित २०१ सदस्यीय कार्य समिति बन्नुपर्छ । यसबाहेक पार्टी विधानले २० प्रतिशत अर्थात् ४० जना मनोनीत गर्ने अधिकार अध्यक्षलाई दिएको छ । महाधिवेशनले पदाधिकारी र केन्द्रीय सदस्य चयनको जिम्मेवारी अध्यक्ष यादवलाई नै दिएको हुनाले अध्यक्षले मनोनीत गर्नेबाहेकका विषयमा उहाँले आवश्यक व्यक्तिसँग छलफल गरेर टुंगो लगाउनुहुनेछ । पार्टी विधानको व्यवस्थाअनुसार नै समावेशी केन्द्रीय समिति बन्ने निश्चित छ ।

केन्द्रीय कार्य समितिले कहिलेसम्म पूर्णता पाउँछ त ?
२०१ सदस्यीय केन्द्रीय समितिका लागि ३७२ को उम्मेदवारी परेको थियो । त्यही उम्मेदवारी दिएकै ‘क्लस्टर’मा रहनेगरी केन्द्रीय समिति टुंगो लाग्छ । हामी पार्टीमा आवश्यक छलफल गरेर छिट्टै टुंगो लगाउँछौँ । अध्यक्षले पनि सबैलाई समेटेर केन्द्रीय समितिलाई पूर्णता दिने बताइसक्नुभएको छ । 
 

सुझावित समाचार