बजेट बाँडफाँटमा सांसद शाहीको असन्तुष्टि– कर्णालीले देशबाटै अलग हुन्छु भने के हुन्छ ?

मंगलबार, ४ असार, २०८१
डिजिटल संस्करण
बजेट बाँडफाँटमा सांसद शाहीको असन्तुष्टि– कर्णालीले देशबाटै अलग हुन्छु भने के हुन्छ ?

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र  पार्टीका सांसद ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेशमा निकै कम  बजेट विनियोजन भएको भन्दै असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधिसभामा भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा सांसद शाहीले पछाडि परेको कर्णालीलाई सधैँ पछाडि नै पारिरहने काम भएको बताए।

जनताको रगत र पसिनाबाट आर्जित पैसाबाट  नै बजेट बन्ने उल्लेख गर्दै उनले सबै प्रदेशलाई समान रूपमा बजेट बाँडफाँट गर्नुपर्ने धारणा राखे। ‘मलाई के लाग्दै छ भने मन्त्रीज्यूहरूले बाबुबाजेको पुस्तेनी सम्पत्ति बेचेर, घरमा राखेर, खल्तीबाट निकालेर हालेजस्तो गर्नुभयो। यो होइन माननीयज्यूहरू,’ उनले भने, ‘यो देशका जनताले रगत र पसिना बगाएर तिरेरकाे करबाट आर्जित पैसाको बजेट हो । सबैलाई समानताका आधारमा बाँडफाँट गरिनुपर्छ।’

कर्णालीका २० सांसदमध्ये १२ जना सत्तापक्षका र दुईजना मन्त्री रहेका उल्लेख गर्दै शाहीले भने, ‘एमालेबाट दुईजना, माओवादीबाट ६ जना, रास्वपाबाट एकजना, एकीकृत समाजवादीबाट तीनजना (सांसद) हुनुहुन्छ। तपाईं (रघुवीर महासेठ)ले भौतिक पूर्वाधार मन्त्रालयको बजेट बनाउँदै गर्दा यी सांसदहरूसँग छलफल गर्नुभयो ?’

कर्णालीलाई सधैँ पछि  पारिरहे एक दिन कर्णाली नेपालबाटै अलग हुने भन्दै शाहीले कर्णालीवासीलाई नहेप्न चेतावनी दिए। उनले भने, ‘आज यो देशमा कर्णाली पिछडिँदै आयो । यसको मतलब यो होइन कि सधैँ पिछडा पार्नुपर्छ। सधैँ पिछडा पार्याे भने कर्णालीले भोलि यो देशबाट अलग हुन्छु भनेर प्रस्ताव राख्यो भने के हुन्छ ?’

सुझावित समाचार