सल्यानमा माटोको उर्वराशक्ति घट्दै

मंगलबार, ४ असार, २०८१
डिजिटल संस्करण

सल्यानमा खेतीयोग्य जमिनको माटोमो उर्वराशक्ति घट्दै गएको छ । खेतबारीमा रासायनिक मल र विषादीको अनियन्त्रित प्रयोग हुने भएको उर्वरा र उत्पादनशक्ति घट्दै गएको हो । खेतीयोग्य माटोका लागि नभइनहुने पोषकतत्त्वमध्ये क्षयीय, नाइट्रोजन, प्रांगारिक पदार्थ र फस्फोरसको मात्रा कम देखिएको छ भने मोटोमा अम्लीयपना धेरै देखिएको छ ।

जिल्लाका विभिन्न स्थानमा गरिएको मोटो परीक्षणमा माटोको अम्लीयनपना धेरै देखिएको हो । विशेषगरी सुन्तला र तरकारी खेती हुने स्थानको माटोमा अम्लीयपन धेरै देखिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । माटोमा सात पिएसमान हुनुपर्नेमा परीक्षण गरिएका अधिकांश माटोमा ४.५ देखि ६.४ पिएसमानसम्म देखिने गरेको कार्यालयले जनाएको छ । 

जिल्लाका दुई सय ३० किसानको माटो परीक्षण गर्दा दुई सय १० किसानको माटोमा अम्लीयनपन देखिएको कृषि विकास कार्यालय सल्यानका कार्यालय प्रमुख रेशमकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार माटोको अम्लीयपन घटाउन कृषिचुना वितरण गरिरहेको छ । गाईवस्तुको मलको सट्टा रासायनिक र विषादीको प्रयोगले माटोको जैविक गुण घटाएको उनको भनाइ छ । 

एउटै किसिमका मात्र बाली पटकपटक लगाउँदा पनि माटो रुखिने कार्यालयको भनाइ छ । बाली चक्र अपनाएर फेरी–फेरी खेती गर्ने र कोसेबालीको खेती बढाउँदा पनि माटोको उर्वराशक्ति बढाउन सकिने बस्नेतको भनाइ छ । किसानमा रासायनिक मल र विषादीको प्रयोगबारे ज्ञान नहुँदा पनि किसानले आफ्नो माटो बिगारिरहेको शारदा नगरपालिका– १ का किसान लुब्धकृष्ण भट्टराईले बताए । कुन खेतीमा के–कति रासायनिक मल प्रयोग गर्ने भन्ने जानकारी नहुँदा आफ्नो अनुकूलतामा प्रयोग गर्दा उर्वरायुक्त माटो मासिँदै गएको भट्टराईको भनाइ छ ।  जसले हामीलाई नै हानि गरी रहेको उनले बताए । 

माटोमा बढी अम्लीयपन हुँँदा सुन्तलाले सोचेजस्तो दाना दिन नसकेको बागचौर नगरपालिका– ८ कोटमौलाका किसान पूर्णबहादुर चन्दले बताए । ‘यो वर्ष सुन्तला किन राम्रो भएन भनेर चिन्ता लागेको थियो, माटो परीक्षण गराउँदा थाहा भयो माटोमा अधिक अम्लीयपना भएर रहेछ,’ उनले भने ।  
 

सुझावित समाचार