नौमूलेका विद्यालयमा ‘हातमा पुस्तकरहित अभियान’ थाल्दै एक युवक

सोमबार, ३ असार, २०८१
डिजिटल संस्करण

आर्थिक अभावले दैलेखको दुर्गम क्षेत्र नौमूलेका विकट स्थानबाट विद्यालयमा पढ्न आउने विद्यार्थी अहिले पनि हातमा किताब र कापी बोकेर विद्यालय पढ्न जान्छन्। दुर्गमका विद्यार्थीले राम्रो झोला, कलम र कापी नपाएर शिक्षा आर्जन गर्न समस्या नहोस् भन्दै अमेरिका बस्दै आएका एक युवकले ‘हातमा किताबरहित अभियान’ थालनी गरेका छन्।

नौमूले गाउँपालिका– ६ सल्लेरीमा जन्मेर हाल अमेरिकामा रोजगारी गर्दै आएका मानेन्द्र चन्दले पुस्तक हातमा बोकेर विद्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्न अभियान थालेका हुन्। उनले गाउँपालिकाका ११ वटा विद्यालयका कक्षा १० मा पढ्ने विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेका छन्। घोषणासँगै उनले तीनवटा विद्यालयका एक सय ३७ विद्यार्थीलाई झोला र शैक्षिक सामग्री वितरण गरे।

गाउँपालिकाका ११ वटा माविमा गरी कक्षा १० मा पढ्ने विद्यार्थीको संख्या ६ सयभन्दा बढी छ। यसअघि तीन र यसपालि तीनवटा विद्यालयमा झोला वितरण भएपछि विद्यार्थी निकै खुसी भएका भैरव मावि नौमूलेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शशिराम विकले बताए।

विदेशमा आफूले कमाएको रकममध्ये केही शैक्षिक क्षेत्रको सुधारमा लगानी गर्ने तयारीअनुसार अभियान थालिएको अमेरिकामा रहेका मानेन्द्र चन्दले प्रतिक्रिया दिए। ‘म गाउँमा बसेर स्कुल पढ्दा झोला हुँदैनथ्यो, हातमा किताब र कपी बोकेर विद्यालय जानुपर्थ्यो, अहिले म अमेरिकामा छु । आफूले काम गर्ने समयभन्दा धेरै काम गरेर प्राप्त गरेको रकमले विद्यार्थीलाई सहयोग गर्ने अभियान थालेको हुँ,’ उनले भने।

सुझावित समाचार