बाराको सुरक्षा सम्बन्धमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

आइतबार, २ असार, २०८१
डिजिटल संस्करण

बाराको सुरक्षाबारे सांसद अच्युतप्रसाद मैनालीले सरकारको ध्यानाकर्षण गराएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद मैनालीले भारतसँग सीमा जोडिएको बारामा पछिल्लो समय शान्तिसुरक्षा कमजोर भएको भन्दै संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्।

मैनालीले शुक्रबार बेलुका बाराको कलैया उपमहानगरपालिकास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको उल्लेख गर्दैै सीमा क्षेत्रको सुरक्षामा सावधानी अपनाउन सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘बारालगायत मधेश प्रदेशका सीमा क्षेत्रका बासिन्दा असुरक्षित भएका छन्। एक दशकअघि मधेशमा जसरी हत्या र हिंसा हुन्थ्यो अहिले त्यस्तै अवस्था सुरु हुन थालेको हुँदा भारतीय पक्षसँग समेत समन्वय गरी यस भेगका जनताको सुरक्षाको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्दछु।’

गत शुक्रबार साँझ अज्ञात समूहले क्याम्पस प्रमुख आदर्श कोतवाल गाउँपालिका– २ खजुरिया टोल बस्ने ५० वर्षीय हरिभूषण कुशवाहको गोली हानी हत्या गरेको थियो। यसअघि गत वर्ष कात्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ वर्षीय गुड्डु भनिने रूपेश सर्राफको पनि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो।

बारामा पछिल्लो एक वर्षमा गोली प्रहार गरी चारजनाको हत्या भएको छ भने गोली प्रहार गरी हत्या गर्ने क्रमसमेत बढेको छ। जिल्लाको बरियारपुर, पचरौता तथा सिम्रौनगढ नगरपालिका इलाकामा भारतीय सुटरले नेपाल प्रवेश गरी सर्वसाधारणमाथि गोली प्रहार गरी हत्या गर्ने क्रम बढेको हो।

सुझावित समाचार