बागमती प्रदेश सभाका सदस्य इन्द्रबहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ संशोधन गर्न माग गरेका छन् ।
प्रदेश सभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमातहत राख्न नमिल्ने भन्दै ऐन संशाेधन गर्न माग गरेका हुन् । उनले हेटौँडा अस्पताललाई प्रादेशिक अस्पतालको रूपमा विकास गर्न माग गरे ।
पछिल्लो समय मदन भण्डारी विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पतालबीच देखिएको विवाद समाधानका लागि ऐन संशोधन आवश्यक रहेको उनको भनाइ थियो ।
शुक्रबार बिहान प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हेटौँडामा प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय गर्दै अध्ययन समिति बनाउने निर्णय गरेको भन्दै उनले आफूहरूको त्यसतर्फ पनि ध्यानाकर्षण भएको बताए ।
हेटौँडामै अर्को प्रादेशिक अस्पताल बनाउने कुरामा आफूहरूको समर्थन रहने भए पनि हेटौँडा अस्पताललाई प्रतिष्ठानमातहत राख्ने विषय भने मान्य नभएको उनले स्पष्ट पारे ।
हेटौँडा अस्पताल प्रादेशिक अस्पतालको रूपमा संघीय सरकारबाट हस्तान्तरण भएकाले त्यसको अस्तित्व मास्न नहुने उनको भनाइ थियो ।
‘संघीय सरकारअन्तर्गतको हेटौँडा अस्पताल प्रादेशिक अस्पताल रहने गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन ऐन गलत छ । हेटौँडा अस्पतालको चलअचल सम्पत्ति मदन भण्डारीको हुन्छ भन्ने निर्णय कहाँ गरिएको छ ? प्रतिष्ठानको ऐन परिमार्जन गर्नुपर्छ,’ उनले भने ।
संघीय सरकारबाट व्यवस्थापकीय जिम्मेवारी प्रदेश सरकारलाई दिइएकाले प्रतिष्ठानको नाममा अस्पतालको सम्पत्तिमाथि हस्तक्षेप गर्ने अधिकार कसैलाई नभएको सांसद बानियाँले बताए ।