फिफा विश्वकप फुटबलपछि महत्वपूर्ण प्रतियोगिताका रूपमा युरोपियन च्याम्पियन्स (युरो) रहेको छ । पछिल्लो संस्करणदेखि यो प्रतियोगिताको नाम युरो राखिएको छ, यसअघि युरोकप थियो । जर्मनीले प्रतियोगिता आयोजना गर्दै छ । युरो २०२४ प्रतियोगिता आधिकारिक रूपमा नेपाली समयअनुसार शनिबार बिहान हुनेछ । बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा स्कटल्यान्डले जर्मनीको सामना गर्दै प्रतियोगिताको सुरुवात गर्नेछ । एक महिनासम्म चल्ने युरो २०२४ को फाइनल १४ जुनमा हुनेछ । जुन बर्लिनको ओलम्पिक रंगशालामा हुनेछ । जर्मनीले अन्तिमपटक सन् १९८८ मा प्रतियोगिता आयोजना गरेको थियो ।
पूर्व र पश्चिम जर्मनीको एकीकरणपछि यो राष्ट्रले पहिलोपटक प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । युरोमा २४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले छैटौँपटक सहभागिता जनाउँदै छन् । जर्मनी, स्पेन, इटाली, इंग्ल्यान्ड, नेदरल्यान्ड्स तथा पोर्चुगललाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । स्विडेन सन् १९९६ पछि पहिलोपटक छनोट भएन ।
छनोट चरणमा पोर्चुगल अपराजित
अघिल्लोपटकको संरचनाजस्तै यसपटक पनि प्रतियोगिताको ढाँचामा केही परिवर्तन छैन । सहभागी राष्ट्रलाई पाँच समूहमा विभाजित गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली प्रिक्वार्टरफाइनलमा (राउन्ड अफ १६) मा पुग्नेछन् । यसका साथै चार उत्कृष्ट तेस्रो स्थानमा रहेका टोली पनि अन्तिम १६ मा पुग्नेछन् । युरो २०२४ को छनोट प्रतियोगितामा फ्रान्स, इंग्ल्यान्ड, पोर्चुगल, बेल्जियम, रोमानिया र हंगेरी अपराजित थिए । यी राष्ट्र उत्कृष्ट फर्ममा छन् । रोनाल्डोको कप्तानीमा पोर्चुगलले छनोट चरणमा सबै खेल जितेको थियो । पोर्चुगलले छनोट चरणमा ३६ गोल गरेको थियो भने दुईवटा व्यहो¥यो । स्पेन र स्कटल्यान्डले एउटा मात्र खेलमा हारको सामना गरे । छनोट चरणमा इन्टरमिलानका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले ८ खेलमा १४ गोल गरे ।
चर्चित अनुहारका खेलाडीले गुमाए
युरोको रमाइलो पक्ष नै युरोपका राम्रा खेलाडीको उत्कृष्ट प्रदर्शनको खेल हेर्न पाउनु हो । तर, यसपटक युरोपियन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी युरोमा हुने छैनन् । लगातार इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट उत्कृष्ट प्रदर्शन गरेका अर्लिङ हालान्ड र आर्सनलका कप्तान मार्टिन ओडेगार्ड प्रतियोगितामा हुने छैनन् । यी दुवै आबद्ध राष्ट्र नर्वे प्रतियोगितामा छनोट नै भएन ।
तर, यसपटकको युरोमा केही ठूला नाम गरेका अन्य खेलाडी पनि हेर्न नपाइने भएको छ । केही स्टार खेलाडी हुँदा राष्ट्रिय टोलीमै समावेश नै हुन सकेनन् । इटालीका ३६ वर्षीय फ्रान्चेस्को एचेबीले चोटका कारण प्रतियोगिता गुमाएका छन् । ग्रोइन इन्जुरीका कारण उनले युरो खेल्न पाउने छैनन् । नेदरयान्ड्सका स्भेन बोटम्यानको अनुपस्थितिले टोलीका लागि ठूलो घाटा भएको छ । गत १६ मार्चमा म्यानचेस्टर सिटीविरुद्धको खेलमा न्युक्यासलबाट प्रतिस्पर्धा गरेका स्भेन चोटग्रस्त भए । जसका कारण उनले युरो गुमाए । स्पेनका गाभी गत नोभेम्बरमा जर्जियाविरुद्धको छनोट खेलमा क्रममा घाइते भएका थिए ।
सहभागी राष्ट्रहरू
समूह ए : जर्मनी, स्कटल्यान्ड, हंगेरी, स्विट्जरल्यान्ड
समूह बी : स्पेन, क्रोएसिया, इटाली, अल्बानिया
समूह सी : स्लोभेनिया, डेनमार्क, सर्बिया, इंग्ल्यान्ड
समूह डी : पोल्यान्ड, नेदरल्यान्ड्स, अस्ट्रिया, फ्रान्स
समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन
समूह एफ : टर्की, जर्जिया, पोर्चुगल, चेक गणतन्त्र