ब्याक्टेरियल संक्रमणविरुद्धको बायोटेक्स नामक औषधि बिक्री–वितरणमा रोक लगाइएको छ। अनुगमनको क्रममा औषधिमा गुणस्तर नभेटिएको भन्दै औषधि व्यवस्था विभागले प्रयोगमा रोक लगाएको हो।
इन्जेक्सनको रूपमा बजारमा बिक्री–वितरण भइरहेको बायोटेक्स भारतबाट आयात भइरहेको थियो। जेदश हेल्थकेयर लिमिटेडले उत्पादन गरिरहेको यो इन्जेक्सन नेपालमा डिकेएम फर्मास्युटिकल्सले बिक्री–वितरण गर्दै आएको थियो।
बजार अनुगमनका क्रममा इन्जेक्सनमा स्पेसिफिकेसन र औषधिमा आवश्यकताअनुसार गुणस्तर नभएको पाइएको विभागले जनाएको छ।
‘बायोटेक्स वान जिएम’ एन्टिबायोटिक औषधिको रूपमा ब्याक्टेरिया संक्रमणको उपचार गर्न प्रयोग गरिन्छ। खासगरी मस्तिष्क, फोक्सो, कान, मूत्रनली, छाला र नरम तन्तु, हड्डी र जोर्नी, रगत र मुटुको संक्रमणविरुद्ध यो औषधि प्रयोग गरिन्छ। यस्तै, शल्यक्रियाको समयमा संक्रमण रोक्न पनि प्रयोग गरिन्छ।
शरीरमा भएका ब्याक्टेरियालाई मार्न र थप विकास हुन नदिन औषधि प्रयोगमा ल्याइन्छ। सीधै नसा वा मांसपेशीमा लगाइने यो औषधि अर्को सूचना जारी नहुदाँसम्म बिक्री–वितरण नगर्न वा सेवाग्राहीले समेत प्रयोगमा नल्याउन विभागको सूचना भनिएको छ।