नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल–भारतबीचको सम्बन्धलाई थप सुमधुर र युगसुहाउँदो बनाउनुपर्ने बताएका छन्।
नेपाली जनसम्पर्क समिति भारतले ४८औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि महरले देश दुई संस्कृति एक रहेकाले युगसुहाउँदो सम्बन्ध आवश्यक रहेको औँल्याएका हुन्।
‘नेपाल–भारत देश दुई भए पनि हामीबीच सांस्कृतिक एकता छ। परापूर्वकालदेखि रोटीबेटीको सम्बन्ध छ। अब यो सम्बन्धलाई थप व्यवस्थित र समय सान्दर्भिक बनाउनुपर्छ। नयाँ पुस्ताको चाहनाअनुसार अगाडि बढाउनुपर्छ,’ उनले भने।
कहिले कुनै कुरामा मनमुटाव देखिए पनि नेपाल–भारतबीच त्यो द्वन्द्व नभएर इसिजीको रेखाजस्तो भएको महरको टिप्पणी छ। इसिजीको रेखा तलमाथि नभएमा मानिसको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले जीवन्तताका लागि कहिलेकाहीँ सम्बन्धको रेखा पनि चलायमान हुनुपर्ने उनले बताए।
‘हामीबीचमा सम्बन्धको रेखा चलायमान हुनु आवश्यक छ। तर, त्यो सकारात्मक दिशामा मात्र चलायमान हुनुपर्छ। जुन नेपाल–भारतबीच वर्षौँदेखि सकारात्मक दिशामा चलायमान हुँदै आएको छ,’ उनले भने।
पहिले नेपालका युवाहरू उच्च शिक्षाका लागि भारत आउने भए पनि अब उनीहरूको ज्ञान तथा सीपको समेत भारतले सदुपयोग गर्न सक्नुपर्ने महरले बताए। युवाहरूलाई आर्थिक गतिविधिसँग जोड्न सके दुई देशबीचको सम्बन्ध थप बलियो हुने उनको भनाइ छ।
उनले नेपालको समृद्धिविना भारत र चीनको समृद्धि पनि सम्भव नभएकाले यो कुरालाई भारतले अझ बलियो गरी बुझ्नुपर्ने जिकिर गरे।
‘समृद्धिका लागि छिमेकी मुलुक पनि बलियो हुनुपर्छ। भारतसँग हाम्रो धेरै कुरा मिल्छ। खुला सीमा छ। दुवै देशका नागरिकबीच भाइचाराको सम्बन्ध छ। त्यसैले भारत सरकारले आफ्नै देशसँगै नेपालको समृद्धिमा पनि टेवा पुर्याउनुपर्छ। यसो भएमा दुई देशबीचको भावनात्मक सम्बन्ध थप बलियो हुनेछ,’ उनले भने।
बिपी कोइरालाले ४७ वर्षअघि विदेशमा रहेका नेपालीको सीप, विचार र क्षमतालाई राष्ट्र निर्माणमा लगाउनुपर्छ र उनीहरूको सहयोग लिएमा लोकतन्त्रको जग थप बलियो बनाउन सकिन्छ भन्ने सोचका साथ सम्पर्क समितिको स्थापना गरेको स्मरण गरे।
अहिले विश्वका विभिन्न ३७ देशमा सम्पर्क समिति रहेका छन्। त्यहाँ रहेका नेपालीहरू सम्पर्क समितिको माध्यमबाट अवैतनिक राजदूतका रूपमा नेपाल निर्माणमा भूमिका खेलिरहेको महरको भनाइ छ।
त्यसैले जनसम्पर्क समितिबाट पार्टीमा र संसदमा प्रतिनिधित्व गराउने कुरामा कांग्रेसभित्र छलफल भइरहेको महरको भनाइ थियो। उनले प्रवासमा रहेका नेपालीसँग सँगै रहेर कांग्रेस अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
सुनिता कुँवरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जनसम्पर्क समितिका संस्थापक केएम रावल, युवा नेता सन्दीप रानालगायतको सहभागिता रहेको थियो।