बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलबाड : म्याद सकिन लागेका औषधि आपूर्ति गर्छ अस्पताल

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

नारायणी अस्पतालमा औषधि आपूर्ति गर्दै आएको सप्लायर्स कम्पनीले म्याद सकिन नजिक रहेको औषधि आपूर्ति गरेको अस्पतालको फार्मेसीमा भेटिएको छ । अस्पतालमा चालू आर्थिक वर्ष ०८०/८१ मा औषधि आपूर्ति गर्ने ठेक्का पाएको पर्सा साइन्स कम्पनी, एस.आर सप्लायर्स र साक्षी मेडिकलले अस्पतालमा म्याद सकिन  नजिक रहेको औषधि आपूर्ति गरेको पाइएको हो । 

अस्पतालले खरिद गर्दै आएको औषधिको म्याद सकिन अन्तिम अवस्था पुगेपछि सस्तोमा पाउने गरेको कर्मचारी स्रोतले जनाएको छ । स्रोतका अनुसार करिब ६ महिना म्याद बाँकी रहँदा कर्मचारीको मिलोमतोमा म्याद सकिन नजिकको औषधि खरिद गरिएको हो । 

अस्पतालको फार्मेसीमा राखिएको ड्रोलाइट नामक औषधिको म्याद सन् २०२४ जुलाई २४ सम्म मात्र रहेको छ । जब कि औषधिको म्याद सक्नुभन्दा तीन महिनाअगाडिनै  यो औषधि आपूर्ति गर्ने सप्लायर्स कम्पनीले फिर्ता लैजानुपर्ने प्रावधान छ। तर, यो औषिको म्याद अब दुई महिनाभन्दा पनि कम रहेको अवस्था छ । 

अधिकांश औषधिको म्याद सकिन अब तीन महिनादेखि पाँच महिना मात्र रहेको अवस्थामा फार्मेसीमा देखिएको छ । 
फार्मेसीमा अहिले डोटाभ ४० को सेप्टेम्बरमा, क्लाइब्याक्ट ३०० को सेप्टेम्बरमा, एरटेन ए को डिसेम्बरमा, जेनोसार ४०० डिसेम्बरमा र स्पारोलक १२५ को अगस्टमा म्यादमा सकिन थालेको छ । 

अस्पतालको फार्मेसीमा करिब ६ महिनादेखि नौ महिनाको म्याद भएको औषधि खरिद गर्न थालिएको अस्पतालका कर्मचारीले बताए । उनीहरूका अनुसार अस्पतालमा केही कर्मचारीहरूले कमिसनको चक्करमा औषधि सप्लायर्स कम्पनीसँग मिलेर आर्थिक मिलोमतो गर्ने गरेका छन् । यस्तै, अस्पताल डायलाइसिस गर्ने समयमा प्रयोग हुने केमिकल पनि स्टोर शाखामा  राखिएको अवस्था छ । 

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा अधिकांश औषधि अहिले पनि जताजतै फालिएको छ । डायलाइसिसमा प्रयोग गर्ने केमिकलमा पनि आफैँ हातले लेखेर औषधिको म्याद थप गरिएको छ । अस्पतालको स्टोर शाखाका अनुसार चालू आर्थिक वर्ष ०८०/८१ मा औषधि आपूर्ति गर्न साक्षी मेडिकलमा एक लाख १८ हजार नाै सय ९५ रकमबराबरको, एसआर सप्लायर्सले १५ हजार एक सय ५० हजार रकमबराबरको र पर्सा साइन्स कम्पनीले पहिलो चरणमा १२ लाख ९४ हजार चार सय ४२ रुपैयाँमा ठेक्का साकार गरेको थियो । यस्तै, दोस्रो चरणमा पनि पर्सा साइन्स कम्पनीले ६३ लाख ७४ हजार तीन सय ७५ रकमको ठेक्का पाएको हो । 

आवश्यक औषधि फार्मेसीमा पाउँदैनन् बिरामी
सरकारले आधारभूत स्वास्थ्य सेवामा आधारित स्तरीय उपचार पद्धति (स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल) अनुसार आधारभूत अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, जिल्ला र प्रादेशिक अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क पाइने व्यवस्था छ ।

तर, सरकारले निःशुल्क दिने ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा पाइँदैन, बिरामीले किन्नुपर्छ । अहिले दिनहुँ नारायणी अस्पतालमा पुगेका बिरामी औषधि नपाएर फर्किएको धेरै उदाहरण छन् । बुधबार अस्पतालमा उपचारका लागि पुगेका वीरगन्जका श्यामप्रसाद साहले अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको अवस्था रहेको बताए । 

उनले अस्पतालको स्टोरमा औषधि राख्ने, तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लगाउने गरेको बताए । 

See More On

सुझावित समाचार