कलाङमलाङमा झोलुंगे पुल निर्माणपछि सात गाउँ तामाङ समुदाय लाभान्वित

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

जुगल गाउँपालिकाको विकट तर सात गाउँ तामाङ र दलित बस्ने ‘लाइफलाइन’ क्षेत्र कलाङमलाङ खोलामा झोलुंगे पुल बनेपछि यहाँका तीन हजार पाँच सय जनसंख्या लाभान्वित भएका छन् । स्थानीय सरकार, संघीय सरकार, स्वाप नामक गैरसरकारी संस्थाको आर्थिक सहयोग र स्थानीय जनश्रमदानबाट ६४ मिटर लामो पुल निर्माण भएको हो । झोलुंगे पुल निर्माण भएपछि सेलाङ, सेभगाउँ, किप्चे, गोल्चे, निम्लुङ, सञ्चगाउँ र लिदीका तीन हजार तीन सय तामाङ र दुई सय दलित समुदाय गरी तीन हजार पाँच सय जनसंख्या लाभान्वित भएका हुन् ।

पुल निर्माणका लागि गाउँपालिकाबाट पाँच लाख ६८ हजार, संघीय सरकारबाट लठ्ठा, बुल्डग र ग्रिप्स अनुदान दुई लाख ५३ हजार, दातृसंस्था स्वापबाट ३४ लाख ६५ हजार र श्रमदानबाट ८७ हजारसहित ४३ लाख ५० हजारमा पुल निर्माण सम्पन्न भएको हो । 

कलाङमलाङमा पुल नहुँदा बर्खाको समयमा खोला तर्न बाध्य जुगलवासी दुर्घटनामा परी ज्यान गुमाएको घटना सम्झँदै गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने, ‘पुल निर्माणसँगै आगामी दिनमा घरगोठ, घाँसदाउरा, नातेदारको घर जाँदा हुन सक्ने दुर्घटना रोकिन्छ ।’ 

झोलुंगे पुल बनेपछि बर्खाको दैनिकी खतरामुक्त र सहज भएको उनले बताए । पालिकाको वडा नं. १ सेलाङबाट हिँडेर लिदी पुग्न एक दिन पूरा लाग्छ । विगत वर्षको बर्खायाममा सदरमुकाम चौतारा आएर घर पुग्न धौधौ हुन्थ्यो । पुल निर्माणपछि सरकारी काम लिएर सदरमुकाम आएका लेकाली भेगका तामाङ समुदाय समयमै घर पुग्न सक्ने भएका छन् । यही पुल भएर लेकाली क्षेत्रमा उत्पादन भएका आलु, मुला, जडीबुटी, स्लेटढुंगा, सेभगाउँको घर छाउने कालो ढुंगा सदरमुकाम आइपुग्छ । 
 

सुझावित समाचार