रेमिट्यान्सको पर्यायवाची आइएमई २४औँ वर्षमा प्रवेश गरेको छ । २४औँ वार्षिकोत्सवका अवसरमा आइएमई लिमिटेडले बुधबार काठमाडौंमा विशेष कार्यक्रममा आयोजना गर्यो । ‘डिजिटल रूपान्तरणलाई अँगाल्दै’ भन्ने मूल नाराका साथ मनाइएको कार्यक्रममा आइएमई ग्रुपका सहसंस्थापक तथा प्रबन्ध निर्देशक हेमराज ढकालले आइएमईको व्यावसायिक यात्राको स्मरण गरे । साथै, उनले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भइसकेको रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने कम्पनीका रूपमा आइएमईले योगदान गरिरहेको बताए ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक सन्देशमार्फत स्थापनाकालदेखि नै गुणस्तरीय सेवा प्रवाह गरिरहेको आइएमई उत्कृष्ट र विस्तारित सेवाका माध्यमबाट आफ्ना ग्राहकको सामाजिक तथा आर्थिक रूपान्तरणमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष ढकालले वैधानिक माध्यमबाट रेमिट्यान्स भित्र्याई देशको औपचारिक अर्थतन्त्र निर्माणमा योगदान गर्न आइएमई प्रतिबद्ध रहेको र आफ्नो व्यवसायलाई थप विविधीकरण गर्दै लगानी विस्तार गर्ने पनि उल्लेख गरे । त्यसैगरी, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक मूल्य र मान्यतालाई कार्यदिशा बनाई सेवा प्रदान गरिरहेको बताए ।
साथै, वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको अन्तरकम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेतालाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो ।