अमेरिकी न्यायालयले देशका राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई बन्दुक किन्न गलत तथ्य पेस गरेको आरोपमा दोषी ठहर गरेको छ । यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो । राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरा हन्टर बाइडेनमाथि लागुऔषधको नशामा रहेको समयमा सन् २०१८ मा हाते बन्दुक खरिद गरेको भन्दै तीनवटा मुद्दा परेको थियो । तीनै मुद्दामा उनलाई दोषी ठहर गरिएको होे । पिता जो बाइडेनले दोस्रो कार्यकालका लागि राष्ट्रपति प्रतिस्पर्धा उत्रिन खोज्दै गर्दा यो निर्णय आएकाले यसलाई अर्थपूर्ण मानिएको छ ।
बाइडेनको गृहनगर विल्मिंगटन, डेलावेयरमा भएको एक कार्यक्रमपछि बाइडेनद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरेको उल्लेख छ । ‘म राष्ट्रपति मात्र नभएर बुबा पनि हुँ । (पत्नी) जिल र म हाम्रो छोरालाई माया गर्छौं, र हामी आज उनी जे छन्, त्यसप्रति निकै गर्व गर्छौं,’ आफ्ना प्रियजनहरू कुलतमा फसेपछि संघर्ष गरिरहेका धेरै परिवारले यसबाट बाहिर निस्केका व्यक्तिहरूको भावनालाई बुझ्छन् भन्ने हामीलाई लागेको छ,’ बाइडेनको विज्ञप्तिमा उल्लेख छ । मुद्दाको नतिजा स्विकार्ने बाइडेनले बताए । त्यस्तै उनले अपिलपछिको न्यायिक प्रक्रियालाई हन्टरले सम्मान गर्ने पनि बताए ।
बाह्र सदस्यीय जुरीको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घन्टा छलफल गरेको थियो । अमेरिकामा बन्दुक किन्नका लागि झुटो बयान दिएमा दश वर्षसम्म, लागुऔषध दुव्र्यसनमा परेका व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्म र बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ । यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने उनले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्छन् । तर, पहिलोपटकको अपराधका कारण हन्टरलाई जेल सजाय माफी हुन पनि सक्छ ।
नोभेम्बरको राष्ट्रपति चुनावमा जो बाइडेनका सम्भावित रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्प आफैँ विभिन्न मुद्दामा दोषी ठहर भएको दुई हप्ताभन्दा कम समयमा बाइडेनका सन्तानविरुद्ध फैसला आएको छ । हन्टरको सजायपछि क्यालिफोर्नियामा कर चोरीको मुद्दा दोषी ठहरिएका पूर्वराष्ट्रपति ट्रम्पमाथि चुनावी ध्यान केन्द्रित गर्ने डेमोक्य्राटहरूको प्रयासलाई जटिल बनाएको छ ।
येलमा प्रशिक्षित वकिल हन्टरमाथि सन् २०१८ मा ३८ क्यालिबर रिभल्भर खरिद गर्दा आफूले कहिल्यै लागुऔषध प्रयोग नगरेको झुटो बयान दिएको आरोप छ । पछिल्लो समय विपक्षी रिपब्लिकनले जो बाइडेनविरुद्ध नकारात्मक माहोल बनाउन उनका छोरालाई निसाना बनाइरहेका छन् ।