यू–१५ विद्यालय खेलकुद सुरु

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) र प्रदेश खेलकुद परिषद्, गण्डकीको संयुक्त रूपमा पहिलोपटक यू–१५ विद्यालय खेलकुद प्रतियोगिता बुधबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको पोखरा रंगशालस्थित बहुउद्देश्यीय कभर्ड हलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन् । पहिलो संस्करणमा एथलेटिक्स, बास्केटबल, ब्याडमिन्टन, टेबुलटेनिस, रग्बी र बुद्धिचाल गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ वटै खेलको छात्र र छात्रा दुवैमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सात प्रदेशबाट पुरुष र महिलामा समान ७६ खेलाडीले भाग लिनेछन् । समग्रमा प्रतियोगितामा पाँच सय ३२ खेलाडीले ३० स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । एथलेटिक्समा छात्र र छात्रामा सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटर स्पर्धा छन् । एथलेटिक्समा कुल १४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

ब्याडमिन्टन र टेबुलटेनिसमा पुरुष एकल, पुरुष डबल्स, महिला एकल, महिला डबल्स र मिक्स डबल्स गरी पाँच–पाँच इभेन्टमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । ब्याडमिन्टन र टेबुलटेनिसमा समान स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । बास्केटबल र रग्बीमा छात्र र छात्रामा समान दुई स्वर्णका लागि खेल हुनेछ । बुद्धिचालमा छात्र र छात्राको टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।

अनुज र सरितालाई स्वर्ण
मधेश प्रदेशका अनुजकुमार साह र कर्णाली प्रदेशकी सरिता शाहीले यू–१५ विद्यालय खेलकुदको एथलेटिक्समा बुधबार स्वर्ण जितेका छन् । लङजम्पको छात्रमा अनुज र छात्रामा सरिताले स्वर्ण जितेका हुन् । पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे । प्रतियोगिताको छात्र चार सय मिटर दौडमा सुदूरपश्चिमका वरुणदत्त राना पहिलो भए । उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । सो स्पर्धाको छात्रामा कर्णालीकी कृष्णा रानाले स्वर्ण चुमिन् ।

सुझावित समाचार