बुधबार बिहान कुवेतको महंगाफस्थित आप्रवासी श्रमिक क्याम्पमा आगलागी हुँदा तीन नेपाली घाइते भएका छन् । आगलागी भएको क्याम्पमा पाँचजना नेपाली श्रमिक रहेकोमा तीनजना सामान्य घाइते र दुईजना सुरक्षित रहेको जानकारी कम्पनीले दिएको दूतावासले जनाएको छ ।
आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते दिनेशकुमार मण्डल सामान्य उपचारपछि डिस्चार्ज भइसकेको दूतावसाले जनाएको छ । दूतावासका कर्मचारीले अस्पतालमा नै पुगेर उपचाररत पासवान र लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतको श्रमिक क्याम्पमा आगलागी हुँदा घाइते नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् । कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले घाइतेको अवस्था र उपचारबारे जानकारी लिएका हुन् ।