काबेली तेस्रो हाइड्रोपावरमा काम गर्ने एक युवकको मृत्यु

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

ताप्लेजुङमा निर्माण भइरहेको काबेली तेस्राे हाइड्रोपावरमा काम गरिरहेका एक युवकको पहिरोले पुरिएर मृत्यु भएको छ। जिल्लाको सिरिजंग गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको हो।

जिल्ला प्रहरीका अनुसार पाँचथरको फिदिम नगरपालिका– १४ लुङ्पा घर भएका राई ट्रयाक्टरमा सहचालकका रूपमा कार्यरत थिए । परियोजनास्थल सिरिजंगा गाउँपालिका– ७ खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे.१त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा राईको घटनास्थलमै मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमलकुमार लुंगेलीले  ट्रयाक्टर पहिरोले बगाएर सडकदेखि करिब ६० मिटर तल पुर्याएकाे बताए ।

ट्रयाक्टरका चालक भने भागेर ज्यान बचाउन सफल भएका थिए । प्रहरी निरीक्षक लुंगेलीले प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि पुर्याइएको बताए । मृतकका बाबु दीपक राईसहितका आफन्तहरू आएको  र शव पोस्टमार्टम (परीक्षण) गरी बुझाइएको लुंगेलीले जानकारी दिए । प्रहरीका अनुसार हाइड्रोपावर परियोजना र मृतकका परिवारबीच क्षतिपूर्तिका विषयमा पनि समझदारी भइसकेको बताइएको छ । 

सुझावित समाचार