नेपालका गोलरक्षक तथा कप्तान किरण लिम्बूले राष्ट्रिय फुटबल टोलीबाट सय अन्तर्राष्ट्रिय खेल पूरा गरेका छन् । उनले फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ अन्तर्गत मंगलबार राति भएको दोस्रो चरणको छनोटमा यमनविरुद्ध मैदानमा उत्रँदै सय खेलको कोसेढुंगा पूरा गरेका हुन् । साउदी अरेबियामा भएको खेलमा नेपालले यमनसँग २–२ गोलको बराबरी खेलेको थियो । नेपालका लागि राष्ट्रिय टोलीबाट किरणपछि विराजले ७३ र राजुकाजीले ६८ खेल खेलेका थिए ।
विश्वकप छनोटको दोस्रो चरणमा नेपाल गोल गर्न सफल भयो । यसअघिका पाँच खेलमा नेपाल गोलविहीन थियो । नेपालले ६ खेलमा २० गोल व्यहोर्दा दुई गोल फर्काउन गर्न सफल भयो । यो दुई गोल पनि यमनविरुद्ध थियो । नेपालले सुरुवाती पाँच खेल गुमाउँदा १८ गोल खाएको थियो ।
छनोटमा नेपाल समूह ‘एच’मा चौथो भयो । नेपालले युएई र बहराइनविरुद्धका दुवै खेल गुमाएको थियो । यमनविरुद्धको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो । अन्तिम खेलमा यमनसँग बराबरी खेल्दा नेपाल अंकविहीन हुनबाट जोगियो ।
इमनका लागि नासिर अहमेदले नवौँ मिनेटमा पेनाल्टी गोल गरेका थिए । नेपालका लागि सञ्जीव विष्टले खेलको २२औँ मिनेटमा बराबरी गोल फर्काए । खेलको ६६औँ मिनेटमा जिलेस्पीजंग कार्कीले नेपाललाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम समयमा मोहमद दानीले यमनलाई २–२ को बराबरीमा पु¥याए ।