आइसिसी टी–२० विश्वकप : नेपालसँग अंक बाँडेपछि श्रीलंका बाहिरियो

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण
आइसिसी टी–२० विश्वकप : नेपालसँग अंक बाँडेपछि श्रीलंका बाहिरियो

श्रीलंकासँग अंक बाँडेपछि नेपाली खेलाडी दर्शकलाई धन्यवाद दिँदै ।

आइसिसी टी–२० विश्वकप– २०२४ मा नेपाल र श्रीलंकाले अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडामा बुधबार अत्यधिक वर्षाका कारण खेल हुन सकेन । अम्पायरद्वय क्रिस गफानी र रिचार्डले दुवै टोलीलाई अंक बाँडे । नेपाली समयअनुसार बिहान ५.१५ बजे खेल हुनुपर्ने थियो । बिहान ७ बजेसम्म पनि वर्षा नरोकिएपछि अम्पायरले खेल रद्द गर्दै दुवै टोलीलाई अंक बाँडेका हुन् । 

नेपाली खेलाडीले मैदानमा उपस्थित समर्थकलाई धन्यवाद दिँदै पेभेलियन फर्किएका थिए । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध परीक्षण गर्ने चाहना पूरा नभएको प्रतिक्रिया दिए । ‘श्रीलंकाविरुद्ध वास्तवमा खेल्न चाहन्थ्यौँ । हाम्रा लागि यो राम्रो अवसर थियो । लगातार दुई खेलमा पराजित श्रीलंकामाथि दबाब थियो,’ देसाईले भने, ‘हाम्रा लागि यहाँको पिच र कन्डिसनमा भिज्नुपर्ने अवस्था थियो । हामीले मैदानमा देखाउन पाएनौँ ।’

अंक बाँडेपछि श्रीलंका समूह ‘डी’बाट बाहिरिने पहिलो टोली बन्यो । पूर्वविजेता श्रीलंकाले तीन खेलबाट १ अंक जोड्यो । नेपालले दुई खेलबाट १ अंक जोड्दै सुपर ८ को सम्भावना यथावत् राखेको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित श्रीलंका बंगलादेशसँग २ विकेटले स्तब्ध भयो । 

नेपालले अब वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा शनिबार दक्षिण अफ्रिकासँग खेल्नेछ । दक्षिण अफ्रिका लगातार तीन जितका साथ शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगिसक्यो । नेपालले सोमबार बंगलादेशसँग खेल्ने तालिका छ । नेपाल समूह ‘डी’बाट शीर्ष दुईमा रहँदै सुपर ८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । 

आगामी खेलमा केन्द्रित हुन्छौँ 
मोन्टी देसाई, प्रशिक्षक, नेपाल

आगामी खेलमा केन्द्रित हुन्छौँ । श्रीलंकासँग प्रतिस्पर्धा गर्न चाहन्थ्यौँ । श्रीलंका निकै दबाबमा थियो । त्यसका लागि हाम्रा खेलाडी तयार थिए । वर्षा नहुँदा हाम्रा खेलाडीले टेस्ट राष्ट्रविरुद्ध क्षमता पत्ता लगाउन सहयोग पुग्ने थियो । आउने खेल राम्रो हुन्छ भन्ने आशा गरेका छौँ । नेपाल टी–२० मा कुनै पनि टोलीको चुनौती स्वीकार गर्न तयार छ । सेन्ट भिसेन्टमा स्पिनर र अरू खेलाडी तयार हुनुपर्छ । 

सुझावित समाचार