प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अबदुल्ला सइद मुवारक जरवान अलसाम्सीले बुधबार शिष्टाचार भेट गरेका हुन्।
भेटमा सभामुख घिमिरेले नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रहिआएकोमा सन्तुष्टि व्यक्त गरे। उनले युएईले स्वास्थ्य, शिक्षा, स्पेस प्रविधि, ऊर्जा र नवप्रवर्तनलगायतका क्षेत्रमा हासिल गरेको उल्लेखनीय प्रगतिका लागि बधाई पनि दिए।
‘युएई राज्य स्थापना भएको केही दशकमै गरेको बृहत्तर प्रगति र समृद्धिका लागि युएईको दूरदर्शी नेतृत्वको प्रशंसा गर्दछु,’ उनले भने।
सभामुख घिमिरेले ठूलो संख्यामा नेपाली जनतालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै उनीहरूको रोजगार तथा जीवन सुरक्षाकालाई विशेष ध्यान दिन आग्रह गरेका थिए। युएईमा करिब चार लाख नेपाली विभिन्न क्षेत्रमा कार्यरत छन् ।
युएईका राजदूत अलसाम्सीले युएईको संघीय राष्ट्रिय काउन्सिलका सभामुखले निकट भविष्यमा नै नेपाल भ्रमण गर्ने जानकारी गराए। गत वर्ष नै भ्रमण तय भए पनि निर्वाचनका कारण भ्रमण पछि सरेको उनको भनाइ थियो।
अलसाम्सीले दुई मुलुकबीच भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकार र संघीय संसद्को भूमिका अपेक्षित रहेको भन्दै युएई निर्माणका लागि नेपाली नागरिकले दिएको योगदानलाई आफ्नो मुलुकले सदा स्मरण गर्ने उल्लेख गरे।