सामुदायिक विद्यालयका सटर खाली गरिँदै
सामुदायिक विद्यालयले भाडामा लगाएका दुई सय ३६ वटा सटरमा काठमाडौं महानगरपालिकाले ताला लगाएको छ । शैक्षिक क्रियाकलापका लागि निर्माण गरिएका संरचना भाडामा लगाएको भन्दै महानगरअन्तर्गत शिक्षा विभागले आइतबार ६१ वटामा र सोमबार १३ सामुदायिक विद्यालयका एक सय ७५ सटरमा ताला लगाएको हो ।
महानगरले सोमबार ठमेलस्थित जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल)का ४६ वटा सटरमा ताला लगाएको छ । यी स्थानमा रेस्टुरेन्टसहितका व्यापारिक क्रियाकलाप हुँदै आएका थिए । यस्तै, रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरका ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालय, न्होखाका ३६ वटा, मंगलादेवी माध्यमिक विद्यालय, गुह्येश्वरीका १२ वटा, जनकल्याण माध्यमिक विद्यालय, बौद्धका १४ वटा, पशुपति मित्र माध्यमिक विद्यालय, चाबहिलका ३६ वटा र महेन्द्र माध्यमिक विद्यालय बौद्धका २० वटा सटरमा ताला लगाइएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले बताए ।
यस्तै, शीतला माध्यमिक विद्यालय, बोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगन्ज, नवजागृति माध्यमिक विद्यालय, बोहराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर पनि बन्द गरेको छ । विभागसँग मेयरको सचिवालय र महानगर प्रहरी बलसहितको टोलीले विद्यालयमा पुगेर व्यावसायिक प्रयोजनमा रहेका सटर तथा टहराहरूमा ताला लगाएको हो ।
आइतबार महानगरको टोलीले रामशाहपथस्थित पद्मोदय माध्यमिक विद्यालयले भाडामा दिएका १७ वटा, बागबजारस्थित सहिद शुक्र माविका २२ वटा, डिल्लीबजारस्थित विजय स्मारक माविका आठवटा र पदमकन्या माविका १४ वटा सटरमा ताला लगाएको थियो । महानगरका अनुसार यी विद्यालयले विद्यालयको खुला जग्गा संकुचित बनाएका छन् । अस्थायी टहरा बनाएका छन् । यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा पुर्याएको छ ।
शिक्षा अधिकृत नेत्रनारायण पौडेलले भने, ‘शिक्षा ऐन ०२८ को दफा १६, शिक्षा नियमावलीको नियम १५८ र १५९ अनुसार उद्देश्य पूरा नभएको देखिएकाले ताला लगाउनुपरेको हो ।’ ऐनअनुसार विद्यालयको सम्पत्ति विद्यार्थीको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्रै उपयोग गर्न पाइन्छ । ताला लगाइएका सटरहरूको चाबी विद्यालयका प्रधानाध्यापकलाई बुझाइएको छ । व्यवसाय सञ्चालन गर्न नदिने, तर व्यवसायीका सामान सारेर लैजाने सर्तमा प्रधानाध्यापकलाई ताला दिइएको हो ।