विशेष अदालतले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय दाङका इन्जिनियर रामबहादुर रानाभाटलाई सफाइ दिएको छ। आठ महिनाअघि दायर मुद्दामा सुनुवाइपछि मंगलबार विशेषले यस्तो फैसला गरेको हो।
उनीमाथि गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दा गत १७ असोजमा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर रानाभाट र उनी श्रीमती राधालाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो।
रानाभाटले अवैध रूपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढे/बढाएको सम्पत्ति श्रीमतीका नाममा राखेको भन्दै जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको थियो। यस मुद्दामा सुनुवाइ गर्दै विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाले यस्तो फैसला गरेका हुन्।
इन्जिनियर रानाभाट ०४६ असारमा सरकारी सेवामा प्रवेश गरेका हुन्। उनले ०७९ कात्तिकसम्म तीन करोड १५ लाख रुपैयाँभन्दा बढी गैरकानुनी आर्जन गरेको दाबीसहित मुद्दा दायर भएको थियो।