कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देश पठाइदिन्छु भनी तीन सयभन्दा बढी व्यक्तिबाट रु. १५ करोड ठगी गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
प्रहरीले पक्राउ गरेकाहरूमा चितवनको भरतपुर महानगरपालिका–१८ घर भई हाल काठमाडौं टोखा नगरपालिका बस्ने २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ घर भई हाल पोखरा महानगरपालिका–९ पृथ्वीचोक बस्ने २२ वर्षीय नवीन विक र कास्कीकै पोखरा महानगरपालिका–८ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–८ बस्ने २३ वर्षीय पवन पन्त रहेका छन्।
फेसबुक, म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा फेक आइडी प्रयोग गरी वैदेशिक रोजगारीमा पठाइदिने भनी आकर्षक तलब, भत्तासहितको विज्ञापन गरी सम्पर्कमा आएकाहरूलाई ठगी गर्ने गरेका थिए। उक्त ठगीको सम्बन्धमा उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
कार्यालयका कर्मचारीहरूको खातामा विदेश जान सम्पर्कमा आएका मानिसबाट रकम जम्मा गर्न लगाई उक्त रकम चेकबाट निकालेर विभिन्न खातामा जम्मा गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
उनीहरूले भिसा प्रक्रिया चलिरहेकाले भिसा, वर्क पर्मिट, होटेल बुकिङ, पुलिस रिपोर्टलगायतका नक्कली कागजात देखाई टिकट र डलर साट्न पैसा लाग्ने भन्दै प्रतिव्यक्ति रु. पाँच लाखदेखि १० लाखका दरले पैसा लिएका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।