इक्वेडरमाथि अर्जेन्टिनाको जित, डी मारियाले गरे गोल

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

टिमको कप्तानी गर्दै मैदान उत्रिएका एन्जल डी मारियाको गोल मद्दतमा विश्वविजेता अर्जेन्टिनाले मैत्रीपूर्ण फुटबलमा इक्वेडरमाथि जित हासिल गरेको छ।

सिकागोमा नेपाली समयअनुसार आज बिहान भएको खेलमा नियमित कप्तान लियोनल मेसीले दोस्रो हाफमा मारियालाई प्रतिस्थापन गरेका थिए। त्यसअघि ४०औँ मिनेटमा क्रिस्टियन रोमेरोको पासमा मारियाले दोस्रो बार च्याप्दै आकर्षक गोल गरे।

अधिकांश समय खेललाई नियन्त्रणमा राखेको अर्जेन्टिनाले थप गोल गर्न भने सकेन। यी दुईले २१ जुनदेखि सुरु हुने कोपा अमेरिकाको तयारीका क्रममा अभ्यास खेल खेलेका हुन्। सोही क्रममा शुक्रबार अर्जेन्टिनाले ग्वाटेमालासँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ।

यसपटकको कोपा अमेरिकामा उत्तर र दक्षिण अमेरिकी देशहरूलाई पनि समावेश गरिएको छ। यसअघि दक्षिणी अमेरिकाका देशहरू मात्र यो प्रतियोगितामा सहभागी हुने गरेका थिए।

सुझावित समाचार