उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको आजदेखि राष्ट्रिय महाधिवेशन जनकपुरधामका सुरु हुँदै छ।
०६३ सालमै मधेश आन्दोलनको क्रममा उपेन्द्र यादवले आफ्नो नेतृत्वमा मधेश जनअधिकार फोरम नेपाल गठन गरेका थिए। तर, २०८१ सालमा आइपुग्दा मधेश जनअधिकार फोरम पटक-पटक विभाजित र अन्य पार्टीहरूसँग एकता गर्दै जाँदा पार्टीको महाधिवेशन हुन सकेको थिएन। १८ वर्षपछि पहिलोपटक उपेन्द्र यादव महाधिवेशनको सामना गर्दै छन्।
तत्कालीन महन्थ ठाकुर नेतृत्वको राजपासँग उपेन्द्रले आफ्नाे नेतृत्वको संघीय समाजवादी पार्टी एकता गरी जनता समाजवादी पार्टी गठन गरेका थिए। तर, त्यो एकता एक वर्षसम्म पनि चलेन। महन्थ ठाकुरको नेतृत्वको लोसपा अलग पार्टी गठन भयो । एक महिनाअघि पार्टीका वरिष्ठ नेता अशोक राई नेतृत्वमा जसपा नेपालबाट जसपा पुनः अलग पार्टी भयो। जसपा नेपाल बनेदेखि नै अहिलेसम्म दुईपटक फुटिसकेको छ।
पार्टी विभाजन भए पनि उपेन्द्रले पूर्वघोषित समयमै महाधिवेशन गर्न लागेका हुन्। उपेन्द्रले महाधिवेशनको सामना गर्न लागेका छन् जुन वेला उनका प्रतिद्वन्द्वी कमजोर भएका छन्।
पार्टीभित्र उपेन्द्रलाई टसल दिने वरिष्ठ नेता अशोक राई, रेणु यादव, इस्तियाक राईसहितका नेता पार्टी विभाजन गरी अहिले संघीय सरकारमा सहभागी छन्।
पार्टीभित्र फरक मत राख्ने राजकिशोरले महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने भनिए पनि उपेन्द्रका अगाडि उनीलाई कमजोर उम्मेदवारको रूपमा हेरिएको पार्टीका नेता बताउँछन्।
राजपाको एकतासँगै राजकिशोर जसपा नेपालमा आएको कार्यकर्ताहरूको उनको त्यति पकड हुन सकेको छैन। यस्तो अवस्थामा उपेन्द्र सर्वसहमति अध्यक्षमा चयन हुने सम्भावना प्रबल रहेको नेताहरू बताउँछन्।
एक नेताका अनुसार राजकिशोर सहअध्यक्षमा बार्गेनिङ गर्ने उद्देश्यले अध्यक्षमा उम्मेदवारी दिने नेता तथा कार्यकर्ताहरूलाई सुनाउने गरेका छन्। तर, लामो समयदेखि उपेन्द्र यादव नै अध्यक्षमा रहेकाले नेता तथा कार्यकर्तामा परिवर्तनको नारा लिएर राजकिशोर यादव अगाडि आएको खण्डमा चुनौती दिन सक्ने राजकिशोरनिकट नेताहरू बताउँछन्।
मधेश प्रदेशको राजधानी जनकपुरधामको तिरहुतिया गाछीमा आजदेखि सुरु भएको ३० जेठसम्म चल्ने महाधिवेशनको तयारी पूरा भइसकेको महाधिवेशनको प्रचारप्रसार समितिका संयोजक जितेन्द्र यादवले बताए।
महाधिवेशनमा देशभरिबाट करिब १२ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने उनले बताए। एक लाख ४५ हजार सक्रिय सदस्य रहेको जसपा नेपालले प्रतिदुई सक्रिय सदस्यमा एक प्रतिनिधि र पाँच प्रतिशत मनोनीतलाई महाधिवेशन प्रतिनिधि बनाएको छ।
महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले आज बेलुकी ५ बजेसम्म दर्ता गरिसक्नुपर्नेछ। अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी ५ बजेसम्म दर्ता गर्न पाउने उनले बताए।
केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ तोकेको छ। महाधिवेशनलाई भव्य बनाउन दुई मूल समिति र १० समितिहरू गठन गरिएको छ।
नेता तथा कार्यकर्ताका लागि स्वास्थ्य उपचारको व्यवस्थापन
चर्को गर्मीमा भइरहेको महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा आमकार्यकर्तामा स्वास्थ्य समस्या आउने सक्ने भएकाले जसपा नेपालले स्वास्थ्य उपचारका लागि भरपर्दो व्यवस्थापन गरेको छ।
जसपाले अत्यधिक गर्मी भएकाले मधेश प्रदेशका जिल्लाहरूबाट मात्रै कार्यकर्ताहरूलाई महाधिवेशना बोलाउने व्यवस्था गरेको छ। महाधिवेशनमा सहभागी भएको कार्यकर्ताको स्वास्थ्यमा समस्या भए महाधिवेशन स्थलमै पाँच बेडको स्वास्थ्य शिविर निर्माण गरिएको छ।
त्यसमा अक्सिजनदेखि इसिजीसहितको सेवाको व्यवस्था गरिएको स्वास्थ्य शिविर व्यवस्थापन समितिका संयोजक तथा पूर्स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले बताए।
पूर्वका जिल्लाहरूबाट महाधिवेशनमा आउने नेता तथा कार्यकर्ता बाटोमै बिरामी भएको खण्डमा सिराहाको गोलबजारमा रहेको भुमिजा अस्पताल र पश्चिमबाट आउनेका लागि चन्द्रनिगाहपुरको चन्द्रनगर अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गरिएको छ।
त्यसैगरी, जनकपुरधामको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पताल, सुरक्षा अस्पताल, महोत्तरी रामगोपालपुरको जानकी एकेडमी हस्पिटलमा स्वास्थ्याेपचारको निःशुल्क व्यवस्थापन गरिएको उनले बताए।
विभिन्न देशका प्रतिनिधिको सहभागिता
महाधिवेशनको उद्घाटन समारोहमा भारतीय कंग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसियालगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी हुने उनले बताए।
यस्ता छन् पदाधिकारीमा आकांक्षी
पार्टीको नयाँ विधानअनुसार महाधिवेशबाट २० पदाधिकारीसहित एक सय ५१ जना केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुनेछन्।
तर, महाधिवेशनबाट हाल रहेको एक सय ५१ जनाको केन्द्रीय कार्यसमितिलाई संशाेधन गरेर दुई सय एक बनाइनेछ। महाधिवेशबाट अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक, दुई सय एक केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ। सात सचिवमा भने प्रादेशिक क्लस्टरका आधारमा चयन हुनेछ।
अध्यक्षमा उपेन्द्र यादव र राजकिशोर यादवबीच प्रतिस्पर्धा देखिन्छ। तर, अधिकांश नेताले अध्यक्ष उपेन्द्र सर्वसहमत अध्यक्ष चुनिने दाबी गरेका छन्।
नेताहरूले अध्यक्षबाहेक सबै पदमा निर्वाचन हुने भनिए पनि निर्वाचनको सम्भावना कम रहेको एक नेताले बताए। महाधिवेशन निर्वाचन प्रक्रियाबाटै हुन्छ। तर, अन्तिम समयमा सर्वसहमत हुने सम्भावना प्रबल छ।
अध्यक्षको चयन भएपछि बाँकी पदाधिकारीमा निर्वाचनको प्रक्रिया सुरु हुन्छ। त्यसपछि आकांक्षी उम्मेदवारहरूले आफूले रोजेको पदमा उम्मेदवारी दिन्छ। तर, पछि अध्यक्षले पदाधिकारी छनाेटको सबै अधिकार आफ्नो हातमा राखेर पदाधिकारी छनाेट गर्ने सम्भावना रहेको एक नेताले बताए।
अध्यक्षबाहेक सबभन्दा बढी चर्चा सहअध्यक्ष पदमा छ। राजकिशोर यादवले अध्यक्षमा उम्मेदवारी नदिए सहअध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना छ। सो पदमा पूर्वमुख्यमन्त्री लालबाबु राउत, रकम चोङजोङ, विजय यादवलगायतका आकांक्षी देखिएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा अहिलेसम्म कुनै उम्मेदवार खुल्न सकेका छैनन्। तर, पार्टीभित्र उपाध्यक्षमा हरिनारायण यादव, शिवलाल थापा, सुमन चौधरी, किशाेरी यादव, रामअवतार यादव, उर्मिला साह, रेखा यादव, खालिद सिद्धिकीसहितका आकांक्षी देखिएका छन्।
महासचिवमा दीपक कार्की, रामकुमार शर्मा, रामकिशोर यादव, प्रकाश अधिकारी, विजय यादवलगायतले उम्मेदवारी दिने चर्चा रहेको छ।
सहमहासचिव शैलेन्द्रप्रसाद साह, सर्शराम यादव, निर्मला यादवलगायतका आकांक्षी देखिएका छन्। सचिवमा डा. सुरेन्द्र यादव, ज्ञानेन्द्रकुमार यादव, जितेन्द्र यादव, रामआशिष यादवलगायतका आकांक्षी देखिएका छन्। त्यसैगरी, कोषाध्यक्ष बलराम महतो, प्रमिला यादलगायतका आकांक्षी देखिएको नेताहरू बताउँछन्।