मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ९ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत पशुपतिनगरमा स्थानीयले राजमार्ग बन्द गराएका छन् । मकवानपुरको मनहरी– ९ रजैयामा भारतीय नम्बर प्लेट भएको ग्यास बुलेट बोक्ने लरीले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएकी महिलाको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उनीहरूले राजमार्ग बन्द गराएका हुन् ।
गत शुक्रबार एएस– २५ डिसी ०२१२ भारतीय नम्बरको (खाली) ग्यास बुलेट बोक्ने लरीले ग.७प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी निर्मला अधिकारीको मृत्यु भएको थियो ।
हेटौँडा– ८ कमाने घर भई कामको सिलसिलामा कास्कीको पोखरा उपमहानगरपालिका– ११ फूलबारी बस्दै आएकी ३३ वर्षीया अधिकारी चढेको मोटरसाइकललाई हेटौँडाबाट पोखरा फर्किने क्रममा लरीले ठक्कर दिएको थियो ।
उक्त घटनामा मोटरसाइकलचालक कास्कीको पोखरा– ११ का सुवास गुरुङ घाइते भएका छन् । स्थानीयले मृतकको परिवारलाई तत्काल क्षतिपूर्ति दिलाउन माग गरेका छन् । मृतकको परिवारले क्षतिपूर्ति नपाएसम्म शव जिम्मा नलिने बताएका छन् ।