दुई सहकारीबाट साढे एक अर्ब ठगी प्रकरणमा पक्राउ परेका चन्द्रबहादुर (सिबी) लामा पुर्पक्षका लागि जेल चलान भएका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई गत १८ जेठमा चितवनबाट पक्राउ गरेको थियो । उनी कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेभिट दुवैमा समानान्तर रूपमा २१ वर्ष अध्यक्ष बनेका थिए । दुवै सहकारीबाट एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ अपचलन भएको प्रहरीको भनाइ छ ।
अपराध अनुसन्धान कार्यालयका डिएसपी भोला भट्टले लामा पुर्पक्षका लागि जेल चलान भएको जानकारी दिए । ‘कान्तिपुर र पशुपति सेभिङ ठगी प्रकरणमा सिबी लामा पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको छ,’ उनले भने ।
सहकारी ऐन, ०४१ ले सहकारी सञ्चालकलाई एकैपटक दुई वा सोभन्दा बढी सहकारीको सञ्चालक समितिमा बस्न बन्देज गरेको छ । तर, लामा कान्तिपुर पशुपति सेभिङ एन्ड क्रेडिट को–अपेरिटिभ दुवैमा एकैपटक २१ वर्ष अध्यक्ष बनेका थिए । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांकअनुसार कान्तिपुर र पशुपति सेभिङले मात्रै सात हजार २०७ बचतकर्ताको सात अर्ब ८९ करोड ९९ लाख ९ हजार ७२ रुपैयाँ डुबाइदिएका छन् । जसमध्ये एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ लामाले अपचलन गरेको आरोप छ, जुन रकम कान्तिपुर सेभिङ एन्ड क्रेडिटको हो ।
प्रहरीका अनुसार पशुपति सेभिङको अनुसन्धान अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सिआइबी)ले गरिरहेको छ । पशुपतिको अध्यक्ष अहिले पनि लामा नै छन् । पशुपतिमा एक हजार ४२ बचतकर्ताको एक अर्ब १४ करोड ४८ लाख ३ हजार ६१८ रुपैयाँ डुबेको छ । त्यस्तै, कान्तिपुर सेभिङमा ६ हजार एक सय ६५ बचतकर्ताको ६ अर्ब ७८ करोड ५१ लाख ५ हजार ४५४ रुपैयाँ डुबेको छ । कान्तिपुरमा लामा ०७६ सम्म अध्यक्ष थिए । सोही वेला उनले एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ ऋण लिएका थिए । जसको भुक्तानी उनले हालसम्म पनि गर्न सकेका छैनन् । कान्तिपुरका वर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी अहिले पुर्पक्षका लागि जेलमा छन् ।
मित्रमिलन सहकारी ठगी आरोपमा दुई पक्राउ
पोखरा महानगरपालिका– ९ नयाँबजारस्थित मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना र ठगी गरेको आरोप लागेका र हाल फरार रहेका थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका पूर्वअध्यक्ष भरत भट्टराई र सुवास अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापाले जानकारी दिए । उनीहरूलाई वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले तनहुँको शुक्लागण्डकी नगरपालिका– १ कोत्रेबाट पक्राउ गरेको हो । दुवैलाई कसुर अभियोगबमोजिम सजायका लागि आइतबार कास्की जिल्ला अदालतमा पेस गरिएको थापाले बताए । सहकारी ठगीको आरोप लागेका र हाल फरार रहेकाहरूको खोजीका लागि प्रहरीले सूक्ष्म ढंगले काम गरिरहेको र सोही क्रममा उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ । सहकारी ठगीमा संलग्न भएको आरोप लागेका ३३ मध्ये ११ जना पक्राउ परेका छन् । २२ जना अझै फरार छन् ।