महोत्तरीको उत्तरी र दक्षिण भाग जोड्ने माईस्थान गाशौला–सम्सी सडकमा पानीकाे निकास नहुँदा सडक नै तलाउ बनेकाे छ।
भारत सरकारको सहयोगमा निर्माण भएकाे २६.९४ किलोमिटर लामाे सडकमा नाला नबनाइँदा दुई वर्षमै सडकका विभिन्न स्थानमा पानी जमेर तलाउ बनेका छन्।
नेसनल हाइवे एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट करपोरेसन इन्डियाले निर्माण गरेको सडक दुई वर्षमै तलाउमा परिणत भए पनि सडक मर्मत तथा नाला निर्माणका लागि सम्बन्धित निकायले चासो देखाएको छैन।
स्थानीयले सडकसँगै नाला बनाउन आग्रह गर्दा डिजाइनमा नभएकाे भन्दै निर्माण कम्पनीले बनाउन नमानेकाे औरही नगरपालिकाका पूर्वमेयर सुनील यादवले बताए। उनले औरही नगरपालिकाकै सेर्हालगायतका विभिन्न स्थानमा सडकमा ठूला-ठूला खाडल परेर पिचसमेत फाटेकाे बताए।
लामा डाँफे गोल्डेन गुडले निर्माण गरेको उक्त सडक तत्काल मर्मत गर्न वा सोही सडकमा नाला थप गर्न बजेट अभाव रहेको हुलाकी सडक परियोजना कार्यान्वयन कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले जानकारी दिए।
उनले तत्काल सडक सुधार गर्न रकम नभएको बताउँदै सोही वेला निर्माण भएको सो सडक आफूहरूको जिम्मेवारीमा नरहेको बताए।