सेवा प्रवाहमा सुधार गरी संघीयता बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

शनिबार, २६ जेठ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा प्रवाहमा सुधार गरेर प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने भएकाले सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जनतालाई राम्रो डेलिभरी दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।’

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरी दिनुपर्ने बताए । ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ । यहाँ संघीयताका विरोधी प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोसिसमा छन्,’ प्रचण्डले भने, ‘त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ । जनतालाई राम्रो डेलिभरी दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ ।’

संघीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्याउन आफूले पहल गरिरहेको उनले बताए । ‘यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ, संघीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन्,’ प्रचण्डको भनाइ छ ।

सुझावित समाचार