बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साना योजना पालिकाले कार्यान्वयन गर्ने र ठूला आयोजना प्रदेश सरकारले जिम्मा लिने बताएका छन्।
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुंगामा आयोजना गरिएको जनमुक्ति मार्ग–तालढुंगा–सिक्रेदोभान–झुरझुरे सडकखण्ड आयोजना तथा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास र पालिकाको व्यवस्थापनमा सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिद–बिक्री केन्द्रको उद्घाटनका अवसरमा उनले प्रदेशको विकासमा सरकार प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्री जम्कट्टेलले विगतमा छुटेका तालढुंगा करिडोर र पालिकास्तरीय आधारभूत अस्पतालका लागि आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने आश्वासन दिए। डाँडापारिको तालढुंगालाई बनेपा र धुलिखेलसँग जोड्ने मुख्य सडक तालढुंगा–खोपासी सडकका लागि यसै वर्षबाट बजेट व्यवस्थापन गरी अगाडि बढाउने उनको भनाइ छ।
संघीय सरकारले प्रदेश सरकारलाई सुम्पेको करिब तीन सयभन्दा बढी सडकको गुरुयोजना प्रदेश सरकारले बनाइसकेकाले अब ती सबै आयोजनाको काम निरन्तर अगाडि बढ्ने उनको भनाइ थियो।
उनले परिवर्तनका लागि जनमुक्ति सेनाले ज्यानको बाजी लगाएर लडेर ल्याएको व्यवस्थालाई स्थापित गर्नका लागि हिजोको गौरवपूर्ण क्रान्ति र जनमुक्ति सेनासँग जोडिएको मार्गका रूपमा लिएर काम अगाडि बढाइरहेको उनले बताए।