संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रतर्फ हवाई टिकटमा लगाइने भ्याट र अन्य अनावश्यक कर हटाउन सरकार लागिपरेको बताएका छन्।
आज नेपाल एसाेसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को ५७औँ वार्षिक साधारणसभामा उनले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रका विभिन्न कर हटाउने विषयमा कुरा भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए।
पर्यटनमन्त्री तामाङले नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक भित्र्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधारसहित नयाँ योजना अघि बढाइएको उनकाे भनाइ थियाे।
उनले आन्तरिक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ‘इको हिल स्टेसन’ बनाउने योजना रहेको बताए।
उनले भने, ‘हाम्रो हवाई तथा सडक यातायात सहज छैन, त्यसैले पूर्वाधार सुधार गर्नेतिर सरकारले सोचिरहेको छ । साथै, जनकपुर, पशुपति, लुम्बिनीजस्ता स्थललाई भारत, चीनजस्ता ठूलो जनसंख्या भएका देशबाट पर्यटक भित्र्याउने र हाम्रो सेवालाई थप गुणस्तरीय बनाउने तथा पर्यटकको बसाइँ लम्ब्याउने हिसाबले पनि सोच्नुपर्छ।’
नाट्टाका अध्यक्ष रमेश थापाले लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाउन सरोकारवाला सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए।
नाट्टाको नयाँ नेतृत्व चयनका लागि अहिले निर्वाचन प्रक्रिया चलिरहेको छ। त्यस अवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको थियो।