प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भ्रामक र तथ्यहीन सूचना फैलाउने धेरै अनलाइन कालोसूचीमा पर्ने बताएका छन् ।
नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकलाई बिहीबार काउन्सिलमा बोलाएर पत्रकार आचारसंहिताको विषयमा दिइएको अभिमुखीकरण कार्यक्रममा उनले अनलाइन र सामाजिक सञ्जालमार्फत अफवाहपूर्ण र एकपक्षीय सूचना बढी प्रवाह भएको पाइएको भन्दै त्यस्ता माध्यमलाई कालोसूचीमा राख्ने प्रक्रिया थालिएको जानकारी दिए ।
बस्नेतले राम्रो काम गर्नेलाई पुरस्कार र अटेर गर्नेलाई कडा कारबाही थालिएको बताए । ‘समाचार माध्यमका नाममा अपुष्ट सामग्री दिने, असन्तुलित र पूर्वाग्रहपूर्ण सामग्री पस्किने काम भइरहेका छन् । गालीगलौज, अश्लील र बनावटी सामग्री पनि पाइएका छन् । त्यस्ता कुनै पनि माध्यमलाई काउन्सिलले अब कालोसूचीमा राख्दै छ,’ उनले भने ।