सुनसरीको इनरुवा नगरपालिका– २ का शिवनन्दन मेहता र उनकी आमा रुसनीदेवी मेहताको गत ९ र १० माघमा कनेक्ट आइपिएस ह्याक भयो । क्षणभरमै बैंक खाताबाट १० लाख १० हजार रुपैयाँ गायब भयो । उनीहरूले तत्काल प्रहरीमा उजुरी दिए, तर गुमेको रकम फिर्ता हुन सकेन ।
एसपी विपिन रेग्मी, प्रमुख, जिल्ला प्रहरी कार्यालय सुनसरी
प्रहरीले अनुसन्धान गर्दा एक लाख १० हजार सफ्ट टेक प्रालिमा गएको रहेछ । त्यसका सञ्चालकलाई ल्याएर रकम फिर्ता गर्न भन्यौँ । उनीहरू रकम फिर्ता गर्न राजी पनि भए, तर पीडित पक्षले फिर्ता लिन मानेको छैन । नौ लाख ट्रान्सफर भएको अर्को व्यक्ति फरार भएकाले उनको खोजी भइरहेको छ ।
पीडित मेहताका अनुसार गत ९ माघमा उनकी आमा रुसनीदेवीको इनरुवास्थित लुम्बिनी विकास बैंकको खाताबाट एक लाख १० हजार रुपैयाँ काटिएको सन्देश मोबाइलमा आयो । घटनाको भोलिपल्ट रुसनी छोरा शिवनन्दनसँगै उजुरी लिएर प्रहरी कार्यालय जाने तयारीमा थिइन् । त्यहीवेला शिवनन्दको इनरुवास्थित सानिमा बैंकको खाताबाट नौ लाख रुपैयाँ काटिएको अर्को सन्देश मोबाइलमा बज्यो । दुई दिनको बीचमा दुईवटा खाताबाट १० लाख १० हजार काटिएपछि आमाछोरा तनावमा आए । उनीहरू तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर जाहेरी दर्ता गरे । तर, गुमेको रकम अझै फिर्ता हुन सकेन ।
‘मेरो कनेक्ट आइपिएस ह्याक भयो । दुई दिनको बीचमा दुईवटा खाताबाट १० लाख १० हजार रुपैयाँ काटियो । अनुसन्धान गर्न प्रहरी कार्यालय पुग्यो । जाहेरी दियौँ । तर, गुमेको रकम फिर्ता हुन सकेन,’ पीडित शिवनन्दनले भने । उनका अनुसार नौ लाख रुपैयाँ एनआइसी एसिया बैंकस्थित परश्वर थापा क्षेत्रीको खातमा गएको देखिन्छ । त्यस्तै, एक लाख १० हजार रुपैयाँ सिद्धार्थ बैंकस्थित सफ्ट टेक प्रालिको खातामा गएको देखिन्छ । सफ्ट टेकका सञ्चालक राम श्रेष्ठ र रुपिका विष्ट हुन् । अदालतबाट तीनैजनाविरुद्ध पक्राउ पुर्जी जारी भयो । प्रहरीले राम र रुपिकालाई जिप्रका बोलायो । र, मिल्न दबाब दियो ।
‘मेरो रकम कसको खातामा गएको भन्ने प्रस्ट खुल्यो । उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी पनि भयो । जसमध्ये राम र रुपिकालाई प्रहरीले पक्राउ गरेन । उल्टै मसँग मिल्न दबाब दियो । उनीहरूको बैंक खातामा रकम गएको प्रस्ट देखिन्छ । राम आइटी इन्जिनियर हुन् । उनले सञ्चालन गरेको सफ्ट टेकले आइटी क्षेत्रमै काम गर्छ । मेरो शंका उनीमाथि छ,’ शिवनन्दनले भने ।
प्रहरीले कुनै कारबाही प्रक्रिया अघि नबढाएपछि रन्थनिएका शिवनन्दन गुनासो बोकेर काठमाडौं आए । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेट्न खोजे । पटक–पटक गृह मन्त्रालय धाए । तर, गृहमन्त्री लामिछानेको सचिवालयले उनलाई फिर्ता पठाइदिएयो ।
त्यसपछि उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीकहाँ पुगेर आफ्नो पीडा राखे । तर, समस्या समाधान हुन सकेन । यसबीचमा उनी प्रहरी प्रधान कार्यालय पनि पुगे । प्रदेशदेखि संघीय सांसदहरूलाई भेटे । पीडा सुनाए, तर समस्या समाधान भएको छैन । ‘मेरो खाताबाट १० लाख अन्य व्यक्तिको खातामा ट्रान्सफर भयो । व्यक्ति पहिचान पनि भयो, तर कोही पक्राउ परेन । न गुमेको रकम फिर्ता पाएँ । पीडा लिएर गृह मन्त्रालयदेखि प्रहरी हेडक्वार्टरसम्म पुगेँ । तर, मेरो पीडा कसैले सुनेनन्,’ शिवनन्दनले भने ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपीन रेग्मीले घटनाको अनुसन्धान भएको, घटनामा संलग्नमध्ये एक फरार रहेको र एक लाख १० हजार रुपैयाँ फिर्ता लिन पीडितलाई आग्रह गरिएको बताए ।