मधेश सरकारबाट जसपाको बहिर्गमनले के सन्देश दिन्छ ?
त्यस्तो गतिलो सन्देश केही दिँदैन । संघमा नयाँ गठबन्धन बन्यो, त्यसको प्रभाव तलका प्रदेशहरूमा प¥यो । विगत साढे ६ वर्षदेखि उपेन्द्रजीको पार्टी मधेशको सत्तामा थियो । अहिले संघको गठबन्धनको प्रभावस्वरूप अन्य प्रदेशमा झैँ मधेशमा पनि गठबन्धन फेरियो, उहाँको पार्टी सत्ताबाट बाहिरियो । अब बन्ने सरकारमा पनि यसअघिकै ‘टेस्टेड’ मान्छे रहने हुन् । त्यसैले, यसले मधेशको राजनीति र यसका एजेन्डामा कुनै तात्विवक अन्तर ल्याउँदैन । यो गठबन्धन फेरबदलले अबका दिनमा मधेसको अर्को नयाँ पार्टीको पनि ‘डिस्क्रेडिट’ हुने भयो ।
यसले जसपाको राजनीतिक भविष्यमा कस्तो प्रभाव पार्ला ?
यसबाट जसपाको राजनीतिक भविष्यमा केही फरक पर्दैन । भविष्यमा पुनः अर्को समीकरण बन्नसक्ने सम्भावना जीवितै छ । मधेशबाहेक अन्य प्रदेशको अवस्था पनि योभन्दा खासै भिन्न छैन । सत्ताबाहिर बसिरह्यो भने जसपाको राजनीतिक भविष्य झनै उज्यालो हुनेछ । फेरि सत्ताको लिगलिगे दौडमा सामेल भयो भने चाहिँ अहिलेको भन्दा पनि बिग्रने निश्चित छ ।
जसपालगायत मधेशवादी दल झन्झन् खुम्चिँदै जानुको कारण के होला ?
सत्ताको राजनीतिमा लागेपछि हुने यस्तै हो । संगठन बलियो नभई, जनतासम्म आफ्नो संगठन नपुर्याई सत्ताको राजनीतिमा लिप्त भएपछि जसपालगायत सम्पूर्ण मधेशवादी दलहरूको अवस्था खस्केको हो । हिजो सत्तामा नहुँदा मधेशी दलहरू एकीकृत भए । शक्ति आर्जन गरे । तर, जबजब उनीहरू सत्तामा गए तबतब टुक्रिँदै गए । त्यसैले, मधेशवादी या अन्य कुनै पनि दल खुम्चिनुको मुख्य कारण सत्ताको अस्वस्थ दौड नै हो ।