दोर्दीमा सबैभन्दा बढी र मर्स्याङ्दीको सबैभन्दा कम
लमजुङका आठ स्थानीय तहमा करिब १६ करोडभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । जिल्लाका आठ स्थानीय तहमा आर्थिक वर्ष ०७९/८० मा कार्यान्वयनमा रहेको नौ अर्ब ९० करोड १२ लाख ८२ हजार रुपैयाँँ बजेटको लेखापरीक्षण भएकोमा १५ करोड ७० लाख ६६ हजार रुपैयाँँ बेरुजु देखाइएको छ ।
महालेखापरीक्षकको ६१औँ प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा बढी दोर्दी गाउँपालिकामा बेरुजु रहेको पाइएको छ । जिल्लाको सदरमुकामसमेत रहेको बेँसीसहर नगरपालिकामा ०.७१ प्रतिशत अर्थात् एक करोड २६ लाख ४७ हजार रुपैयाँ बेरुजु भएको छ भने जिल्लामा सबैभन्दा कम मर्स्याङ्दी गाउँपालिकामा लेखापरीक्षण भएको रकमको ०.१८ अर्थात् २३ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।
दोर्दीमा मात्रै लेखापरीक्षण भएको रकमको ३.१९ प्रतिशत अर्थात् तीन करोड ४८ लाख ८६ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा सोबाहेक राइनास नगरपालिकामा लेखापरीक्षण भएको रकमको २.१० अर्थात् तीन करोड १५ लाख ६१ हजार रुपैयाँ बेरुजु देखिएको छ ।
त्यसैगरी क्होलासोँथार गाउँपालिकामा लेखापरीक्षण भएको रकमको ३.७६ प्रतिशत अर्थात् दुई करोड ३२ लाख २८ हजार रुपैयाँ बेरुजु देखिएको छ । मध्यनेपाल नगरपालिकामा १.६४ प्रतिशत अर्थात् एक करोड ८४ लाख ९० हजार रुपैयाँ बेरुजु देखिएको छ । त्यस्तै, दुधपोखरी गाउँपालिकामा भने लेखापरीक्षण भएको रकमको १.९४ प्रतिशत रकम अर्थात् एक करोड ७८ लाख २६ हजार रुपैयाँ बेरुजु देखाइएको छ ।
सुन्दरबजार नगरपालिकामा पनि लेखापरीक्षण गरिएको रकमको १.४ प्रतिशत अर्थात् एक करोड ६० लाख चार हजार रुपैयाँ बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ । जिल्लाका स्थानीय तहहरूमा अघिल्लो आर्थिक वर्षमा नौ अर्ब ६४ करोड १२ लाख ८३ हजार रुपैयाँँ बजेटको लेखापरीक्षण भएकोमा २२ करोड पाँच लाख १६ हजार रुपैयाँँ बेरुजु देखिएको थियो । सोभन्दा अघिल्लो आर्थिक वर्षमा २१ करोड ६५ लाख १३ हजार रुपैयाँँ बेरुजु देखिएको थियो ।