‘नवीकरण नभए १ असारबाट क्रसर बन्द गर्ने’

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

क्रसर, खानी तथा बालुवा उद्योगको लाइसेन्स नवीकरण नभए सेवा ठप्प पार्ने क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले चेतावनी दिएको छ । बुधबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ३२ जेठसम्म नवीकरण गरिदिन सरकारलाई आग्रह गरेको छ ।

सरकारले लिएका विभिन्न नीतिका कारण १० वर्षदेखि यस्ता उद्योगको लाइसेन्स नवीकरण हुन सकेको छैन । महासंघका अध्यक्ष सीताराम न्यौपानले व्यवसायीको माग पूरा नभए १ असारदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरूको उत्पादन तथा बिक्री ठप्प पार्ने बताए । साथै, उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर त्यहाँ भएका गाडी, मेसिनरी औजार, हेभी इक्विपमेन्ट तथा कार्यरत मजदुरहरू सडक प्रदर्शन गर्ने उनको भनाइ छ । 

आर्थिक वर्षको अन्तिम समय भएका कारण जेठ–असारमा निर्माणसम्बन्धी गतिविधि कम हुन्छ । बर्खाका कारण सडकलगायतका पूर्वाधार बिग्रिँदा पटक–पटक मर्मत गर्नुपर्छ । त्यसका लागि निर्माण सामग्री अनिवार्य हुन्छ । सोही समयमा क्रसर व्यवसायीहरूले सेवा ठप्प पार्ने चेतावनी दिएका हुन् ।

आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा खानी तथा बालुवा उद्योगको नवीकरण सम्बन्धमा केही सम्बोधन नभएको कारण व्यवसायीहरू निराश भएको उनको भनाइ छ । उनले भने, ‘हामी तोकिएको दरमा कर तथा दस्तुर तिर्न तयार छौँ, त्यसका लागि आवश्यक व्यवस्था गरिदिनुस । तर, निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरू लामो समयदेखि यस्तो (नवीकरण नभएको) अवस्थामा नराखिदिनुस् ।’

सरकारबाट जारी भएका अव्यावहारिक निर्णयको कारण पछिल्लो १० वर्षदेखि निरन्तर रूपमा क्रसर, खानी तथा बालुवा उद्योगहरूले नवीकरणसम्बन्धी समस्या झेल्दै आएको व्यवसायीहरूको भनाइ छ ।

See More On

सुझावित समाचार