कस्तोे होला भारतीय नयाँ सरकारको नेपाल नीति ?

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल–भारत सम्बन्धका जानकारहरूले भारतमा नयाँ सरकार मोदीकै नेतृत्वमा भए पनि छिमेकप्रति उदार हुने विश्लेषण गरेका छन् । नयाँ सरकार भाजपाको एकल नभएर गठबन्धन सरकार हुने र नेपालको महत्वपूर्ण छिमेकी राज्य बिहारकेन्द्रित दल जनता दल युनाइटेडको महत्वपूर्ण हिस्सेदारी भएका कारण सरकार अझै नेपालमैत्री हुने उनीहरूको आकलन छ । 

जनता दल युनाइटेडका महासचिव केसी त्यागीले नेपालसँग भारतको सम्बन्ध थप सुमधुर र हार्दिक हुने विश्वास व्यक्त गरे । ‘नेपाल हाम्रो प्राथमिकतामा विगतमा पनि थियो, अब पनि रहन्छ । हामी सम्बन्धलाई थप मजबुत गर्न, यसबीचमा भएका सहमति कार्यान्वयन गर्दै आर्थिक रूपमा दुवै देशका जनतालाई फाइदा हुने गरी काम गर्न प्रतिबद्ध हुनेछौँ,’ त्यागीले भने । 

नेपाल–भारत सम्बन्धका जानकार एवं एमपिआइडिएसएका नेपालविज्ञ डा. निहार नायकले नयाँ पत्रिकासँग भने, ‘नयाँ सरकार गठन हुँदैमा भारतको नेपाल नीतिमा आधारभूत परिवर्तन आउँदैन । तर, सरकारको प्रकृतिले सम्बन्ध सञ्चालनमा केही फेरबदल आउन सक्छ । यसप्रकारले हेर्दा नेपालसँगको सम्बन्धमा भारत लचिलो हुने र सम्बन्ध विगतको भन्दा सहज एवं सुमधुर हुने अपेक्षा गर्न सकिन्छ ।’

नेपाल–भारत सम्बन्धका जानकार एवं विश्लेषक अतुलकुमार ठाकुरले दुई देशबीच सम्बन्धको आर्थिक जग बलियो हुँदै गएको भन्दै त्यसले निरन्तरता पाउने अपेक्षा गरे । ‘नेपाल र भारतमा जसको सरकार गठन भए पनि सम्बन्धको आर्थिक जग बलियो भएको हुनाले धेरै फरक पर्दैन भन्ने लाग्छ,’ ठाकुरले भने, ‘दुई देशको सम्बन्धको आर्थिक पक्ष अझै सहज हुन्छ जस्तो लाग्छ ।’

See More On

सुझावित समाचार