आज ज्येष्ठ कृष्णपक्षको आमावश्या । मिथिलाका नारी (मिथिलानी) वर र पिपलको श्रद्धाभक्तिपूर्वक पूजा–आराधनाका साथ पतिको दीर्घजीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदै छन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा आज बिहानैदेखि वरपिपल भएका स्थानमा चहलपहल बढेको छ । नयाँ वस्त्र लगाएका महिला सामूहिक गीत गाउँदै हर्षपूर्वक यो पर्व मनाउँदै छन् ।
पौराणिक कथाअनुसार सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औँसीका दिन अटल सौभाग्यको वरदान पाएकी विश्वासको आधारमा मिथिलानीले यसै कामनाका साथ यो पर्व मनाउँदै आएका छन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखो खाएर व्रत संकल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्तीनजिकको वटवृक्ष (वरको रुख)को फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा–आराधना गरेर यो पर्व मनाउँछन् । व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।
सतीसावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा हो। वरको रुखमा ब्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको वास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको संकल्प, पूजा–आराधना र समापन एकै ठाउँ वरको रुखको फेदमा गरिन्छ ।
नयाँ परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि सावित्री कथा वाचन र श्रवण गर्ने परम्परा पनि छ । साथीसंगीसँग नाच्दै, गाउँदै वटवृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरूका लागि भेटघाट, हँसिमजाक र घरायसी दुःखसुख एक–अर्कालाई सुनाउने अवसरसमेत हुने गरेको व्रतालु मिथिलानी बताउँछन्। व्रतको अभीष्ट नै पतिको दीर्घजीवनको कामना हुने महोत्तरीको बर्दिवास– २ वरचौतारामा पर्वको तयारीमा रहेका शैल कर्णले बताए ।
मिथिलामा केही दशकअघिसम्म ब्राह्मण, कायस्थ र सोनार जातिका महिलाले मात्रै मनाउने गरेको यो पर्व हिजोआज सबै जातजातिका मिथिलानीले मनाउन थालेका छन् ।