फिफा विश्वकप– २०२६ छनोट : नेपाल र युएई आज प्रतिस्पर्धा गर्दै

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

फिफा विश्वकप– २०२६ छनोटअन्तर्गत दोस्रो चरणमा बिहीबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ । समूह ‘एच’को बलियो युएईले जितविहीन नेपालविरुद्ध साउदी अरेबियाको प्रिन्स मोहमद विन मैदानमा खेल्नेछ । खेल राति ८.४५ बजे हुनेछ । फिफा वरीयतामा युएई ६७औँ र नेपाल १७८औँ स्थानमा छन् । नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टाेले युएईविरुद्ध राम्रो खेल्ने बताएका छन् । ‘युएई समूहकै बलियो टोली हो । हामी युएईलाई रोक्ने प्रयास गर्छौँ,’ भिसेन्जोले भने । 

खेल तालिकाअनुसार यो खेल दशरथ रंगशालामा हुनुपर्ने थियो । तर, रंगशाला अन्तर्राष्ट्रिय स्तरको नभएपछि एएफसीले खेल साउदी अरेबियामा खेलाउन लागेको हो । नेपालले दोस्रो चरणका पाँच खेल खेल्दा एक गोल पनि गर्न सकेको छैन । विपक्षी टोलीले नेपालको पोस्टमा १४ गोल गरेका छन् । नेपालका कप्तान किरणकुमार लिम्बूले तयारी राम्रो भएकाले युएईलाई रोक्ने बताए । 

नेपाली टोलीमा नियमित खेलाडी अञ्जन विष्ट छैनन् । प्रशिक्षक भिसेन्जोले एरिक विष्टलाई समावेश गरेका छैनन् । बहराइन, मलेसिया र इंग्ल्यान्डविरुद्ध नखेलेका आयुशा घलानलाई टोलीमा राखिएको छ । अनन्त तामाङले लामो समयपछि पुनरागमन गरेका छन् । नेपालले पहिलो चरणमा समग्रमा लाओसलाई २–१ ले हराउँदै दोस्रो चरणमा स्थान पक्का गरेको हो । पोर्चुगिज प्रशिक्षक पाउलो बेन्टोको प्रशिक्षणमा रहेको युएईका खेलाडी शारीरिक, प्राविधिक र मानसिक रूपमा बलिया देखिन्छन् । युएईका खेलाडीसँग एएफसी च्याम्पियन्स लिग खेलेको अनुभव छ । 

सय अन्तर्राष्ट्रिय खेलनजिक कप्तान किरण
नेपालका कप्तान तथा गोलरक्षक किरणकुमार लिम्बू नेपाली राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेलनजिक छन् । युएईसँग खेल्दा उनको ९९ ‘क्याप’ हुनेछ । पाँच दिनपछि मंगलबार यमनसँग दमाममा खेल्दा उनले सय खेल पूरा गर्नेछन् । किरणले २४ मे २००८ मा डेब्यु गरेका थिए । एएफसी च्यालेन्ज कपमा मकाउविरुद्ध पहिलोपटक खेलेका थिए । उनी पूर्वखेलाडी राजुकाजी शाक्य र विराज महर्जनको कीर्तिमान तोड्दै सर्वाधिक खेल खेल्ने खेलाडी बनेका थिए ।

हेड टु हेडमा युएई बलियो
हेड टु हेडमा युएई बलियो देखिन्छ । युएईसँग नेपालले दुई खेल खेलेको छ । पछिल्लोपटक १६ नोभेम्बर २०२३ मा भएको भेटमा युएई ४–० ले विजयी भएको थियो २९ अक्टोबर १९८४ मा भएको खेलमा नेपाल ११–० ले पराजित भएको थियो । समग्रमा युएईविरुद्ध नेपालले १५ गोल बेहोर्दा एक गोल पनि फर्काएको छैन । 

सुझावित समाचार